ख्याल ठट्टा होइन कोरोना भाइरस संक्रमणको दोस्रो लहर


कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर विश्वभरी सुरु भएको छ। गत बर्ष यसै समयमा व्यापक भएको कोरोना महामारीको तिव्रता भारतमा हुनु भनेको नेपाल सम्भावित ठूलो जोखिममा रहेको संकेत हो। यसैकारण ख्याल ठट्टा नगरी सुरक्षित र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले गरेको अपिललाई मान्ने गरौं।

नोभेम्बरको सुरुआतपछि भारतमा तिव्र गतिमा कोरोना भाइरस फैलिएको छ। यसै कारण पनि उसले उत्पादन गरेको खोपको खपत बढ्न सक्ने भएपछि छिमेकीलगायतका मुलुकमा नदिने, नबेच्ने निर्णय गरिसकेको छ। यसले नेपाल जस्तो मुलुकका लागि ठूलो घाटा र नोक्सानी हुन सक्ने सम्भावना छ। हामीले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित हुनु नै सुरक्षाको प्राथमिक चरण हुनेछ।

स्वास्थ्य मन्त्रालयले सीमित संख्यामा अहिले कोरोना परिक्षण गराउँदा नेपालमा पनि त्यसको दर तिव्रतामा देखिने संकेत मिलेका छन्। सरकारले गृह मन्त्रालयमार्फत सबै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरी आवश्यक परे लक डाउनसम्म गर्नेगरी तयारी थाल्न भनिसकेको छ। यो गतिलो संकेत हुँदै होइन, यसैले सजग बनौं।

जसरी पहिलो लहरमा भारतमा संक्रमण तीव्र गतिमा फैलिएको एक महिनापछि नेपालमा बढ्यो, दोस्रो लहरमा पनि त्यही अवस्था आउन सक्ने जनस्वास्थ्य विज्ञहरूले विश्लेषण गरिरहेका छन्। विज्ञहरूको सुझाव, सरकारको अपिल र मापदण्डलाई नमानी सभा, जुलुस तथा भिडभाड गर्नु उपयुक्त हुँदैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागको सहप्राध्यापक डा. अर्चना श्रेष्ठले नेपाल, भारतभन्दा एक महिना पछाडि परेको र अहिले भारतमा संक्रमण बढ्दै गरेको तथ्यांकलाई एक ठाउँमा राख्दा नेपालमा पनि अबका केही हप्ता संक्रमणको संख्या बढ्दै जाने आँकलन गरेकी छन्। यो आँकलनको संकेतहरू देखिने उपक्रम हुन सक्छन्। यसैले आम नागरिक, पाठक सचेत रहनका लागि अपिल गरिन्छ।

स्वास्थ्य नै धन हो भन्ने विषयलाई हेक्का राखी यो महामारीविरुद्ध सुरक्षा मापदण्ड अपनाएर जोगिऔं।

प्रतिक्रिया