


नेपाली सेनाको प्रदेश १ स्तरीय ‘भूतपूर्व सैनिक सम्मेलन-२०७७’ सम्पन्न

काठमाडाैं – टहरीमा आयोजना भएको नेपाली सेनाको प्रदेश १ स्तरीय ‘भूतपूर्व सैनिक सम्मेलन-२०७७ सम्पन्न भएको छ ।
सैनिक कल्याणकारी बोर्डको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा पूर्वी पृतना हे.क्वा. ईटहरीमा आयोजना भएको प्रदेश स्तरीय ‘भू.पू. सैनिक सम्मेलन-२०७७’ ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ सम्पन्न भएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले दिप प्रज्वलन गरी उक्त सम्मेलनको उद्घाटन गरेका थिए । उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमले भू.पू. तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
साथै उनले सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताए । सम्बोधनकै क्रममा प्रधानसेनापति थापाले ‘नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७’ कार्यान्वयन भएको जानकारी दिए ।
उनले नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरुलाई विकेन्द्रिकृत, पारदर्शी एवम् परिणाममुखी र आत्मनिर्भर बनाउँदै हिताधिकारीहरुको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत समेत गरी कल्याणकारी कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेको समेत बताए ।
सो कार्यक्रममा जेष्ठ भूतपूर्व सैनिक ९१ वर्षका सुन्दर हरैचा ५ निवासी सिपाही रत्न बहादुर पौडेल (अ.प्रा)र श्री फष्ट रैफल गण (तत्कालिन फष्ट रैफल गुल्म) बाट अवकास प्राप्त स्वर्गीय नवथ सिंह कार्की (अ.प्रा.) को श्रीमती वर्ष ९४ की जेष्ठ एकल महिला मांयादेवी कार्कीलाई सम्मान गरिएको थियो ।
त्यस्तै सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल संखुवासभा जिल्ला खांदबारीका डम्वरु बल्लभ अधिकारी (अ.प्रा.) की श्रीमती हिमा अधिकारीलाई सम्मान गरिएको थियो । उक्त समारोहमा ४ वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १६ जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा असक्त ८ जनालाई व्हिल चेयर, बैसाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशिल कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।
सम्मेलनमा १ प्रदेशका १४ वटा जिल्लाहरुमा बसोबास गर्ने ६६४३ जना नेपाली सेनाका भूतपूर्व सैनिक, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा निवृत्तभरणमा रहेका परिवारहरु र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस प्रकारको सम्मेलनले अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानीत जीवन यापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।

