‘साइकोप्याथ’ सुगर ड्याडी, किन क्रुर अपराध गर्छन् आशिष ?

‘डार्क वेभ’मा भिडियो बेच्ने गरेको आशंका


काठमाडाैं- सन् २००५ मा ‘होस्टेल’ नामक हलिवुड चलचित्र आएको थियो । जसमा दुइजना मिल्ने साथीहरु जोश र प्याक्सटन हुन्छन् । उनीहरु अमेरिकाबाट युरोप घुम्न गएका हुन्छन् । त्यहाँ उनीहरुको भेट ओलीसँग हुन्छ । त्यसपछि उनीहरुको भेट एलेक्ससँग हुन्छ । एलेक्सले स्लोभाकियाको एउटा होस्टलमा जान भन्छन् ।

त्यहाँ थुप्रै युवतीहरु भेटिने बताएपछि मोजमस्तीका लागि आएका उनीहरु स्लोभाकिया जान्छन् ।
त्यहाँ पुगेर उनीहरु एउटा नाइट क्लबमा जान्छन् । नाइट क्लबमा भएका केही युवतीहरुले उनीहरुलाई नशालु पदार्थ खुवाइदिन्छन् । त्यो रातपछि अर्को दिन बिहान ओली एकाएक गायब हुन्छन् ।

बिस्तारै जोश र प्याक्सटन पनि एक अनौठो स्थानमा कब्जामा पुग्छन् । त्यहाँ पहिलै ओली मृत अवस्थामा हुन्छन् । उनको शरीरभरी चोट नै चोट हुन्छ । त्यसरी नै जोश र प्याक्सटनलाई पनि एक पुरुषले क्रुर तरिकाले ड्रिल, ह्यामर र इलेक्ट्रिक आराले चोट दिन्छन् ।

त्यसै क्रममा जोशको मृत्यु हुन्छ भने दुई औंला काटिएको अवस्थामा प्याक्सटन त्यहाँबाट भाग्न सफल हुन्छन् । त्यहाँ भएको त्यो अधवैशे पुरुष भने उनीहरुजस्तै त्यहाँ कब्जामा लिइएका युवायुवतीलाई पीडा दिएर मनोरञ्जन लिने हुन्छन् । उनी शरीर काटिँदा बग्ने रगत देख्दा खुसी हुने हुन्छन् ।

000

यो त भयो चलचित्रको कुरा, तर हालै नेपालमा पनि त्यस्तै प्रकृतिको घटना घटेको छ । यहि भदौ १८ गते काठमाडौं प्रहरी परिसरले एक युवकको उजुरीको आधारमा युवायुवतीलाई बन्धक बनाएर शारीरिक यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेका थियो ।

पक्राउ पर्नेमा थिए, बुढानीलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय राजेन्द्र घले, ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका–११ का २२ वर्षीय ओजस्वी तामाङ, र स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरूङ ।

उनीहरुमाथि युवा युवतीहरूलाई क्लब र हाउस पार्टीको नाममा बन्धक बनाई शारीरिक यातना दिने आरोप लागेको छ । यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उक्त गिरोहले लामो समयदेखि यस्तो अपराध गर्दै आएको खुलेको छ ।

सोखको लागि अपराध
उनीहरुको अपराधको बारेमा सुरुमा प्रहरीलाई एक पीडित युवक अनिल (नाम परिवर्तन) ले जानकारी दिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका उनले आफ्नो ढाड देखाएका थिए । उनको ढाडभरी आइरनले डामिएका ठूला घाउहरू थिए ।

अनिललाई ती चोट दिने व्यक्ति थिए आशिष देउला, उनीसँग पीडित युवकको भेट ठमेलको सनेट क्लबमा केही समयअघि भएको थियो । तर, उनी देउलाको कब्जामा भने आफ्नै साथीका कारण जान्छन् । उनका साथीले सापटी दिएको पैसा फिर्ता लैजान बोलाएको बेला पीडित युवकलाई देउलाको समूहले बन्धक बनाएर लगेको थियो ।

बुढानीलकण्ठस्थित देउलाको घरमा पुगाइएपछि युवकलाई रक्सीमा थप नशालु पदार्थ राखेर खुवाइएको थियो । त्यसपछि अन्य युवकहरूले हात खुट्टा समाएपछि आशिषले आइरन तताएर उनको शरीर डामेका थिए । कपडा च्यातेपछि आशिषले उनको नङमा सियो पनि घोपिदिन्छन् ।

युवक चिच्याइरहँदा आशिष भने मनोरञ्जन लिइरहेका हुन्छन् । कोठामा भएका अन्य युवकहरु पनि हास्दै रमाउँछन् । करिब ३ घण्टासम्म अँध्यारो कोठामा राखेर अनिललाई पीडा दिएपछि पुरानै ठाउँमा रातिको करिब ९ बजेतिर अनिललाई छाडिन्छ ।

छाड्ने बेलामा देउलाले प्रहरलाई नभन्न धम्की दिँदै एउटा आँखा नभएको मान्छेको फोटो देखाउँछन् र भन्छन् –‘भनिस् भने तेरो हालत पनि यस्तै हुन्छ ।’ तर ती पीडित युवक केही दिनपछि भने प्रहरीकहाँ गएर सबै बेलिविस्तार सुनाउँछन् । त्यसपछि प्रहरीले आशिषसहित उनको समूहलाई समातेको थियो । उनीलाई पक्राउ गर्न जाँदा प्रहरीले त्यहाँबाट ह्याम्मर, पाइप, नक्कली पेस्तोल, ब्लोबर मेसिन, आइरन लगायत विभिन्न सामान बरामद गरेको थियो ।

आशिष बूढानीलकण्ठका धनाढ्य परिवारका व्यक्ति हुन् । उनी दिनभरि सुत्ने र रातको समयमा काठमाडौंका विभिन्न क्लब, होटल लगायत ठाउँमा जाने गर्छन् । त्यहीबाट उनले युवायुवतीलाई निशाना बनाउँथे । क्लबमा आएका नयाँ युवा युवतीहरूलाई साथी बनाउने, पैसाको प्रलोभनमा पार्ने र मदिरामा लागुपदार्थ मिसाएर पिलाएर आफ्नो घरमा लगेर चरम यातना दिने गरेको पीडितहरुले बताएका छन् ।

ती आशिषले कतिपयको नंग्रा निकाल्ने, पोल्ने, घाउचोट बनाउने, ड्रिल मेसिनले छेडिदिने, मलद्वारमा स्नुकर स्टिक छिराउने, भिक्स हालिदने, शरीरका संवेदनशील अंगहरू पेचकसले च्याप्ने लगायत विभिन्न क्रूर गतिविधि गरेका खुलेको छ । उनले त्यसको भिडियो समेत बताउने गरेको पीडित युवहरुकाले बताएका छन् ।

आशिषले आफूलाई ‘सुगर ड्याडी’ भनेर चिनाउने गरेका थिए । सधैंजसो नकाब लगाएर हिँड्ने उनले आफ्नो सामाजिक टिकटकमा पैसा उडाएको, युवतीहरुसँग रमाएको भिडियो हाल्ने गरेका थिए । तर, केही समयदेखि भने उनी टिकटकमा सक्रिय छैनन् ।

परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘साइकोप्याथ’ आशिषले आफ्नो मनोरञ्जन र सोखका लागि त्यस्ता अपराध गर्ने गरेको स्वीकारेका छन् । धनाड्य भएकाले क्लबमा खर्च गरेर उनी युवायुवतीहरुलाई प्रभावित पार्ने गर्थे । त्यसपछि उनले युवायुवतीलाई बन्धक बनाएर पीडा दिने गरेको खुलेको छ ।

‘डार्क वेभ’मा भिडियो बेच्ने गरेको आशंका
प्रहरीको नियन्त्रणमा भएका आशिषले आफ्नो सोखका लागि ती अपराध गरेका बताएपनि भिडियो खिच्नुको कारणबारे भने बताएको छैन । तर, जानकारका अनुसार ती भिडियो ‘डार्क वेभ’ मा बेचेर पैसा कमाउनका आशिषको समूहले त्यस्तो गरेको हुनसक्ने बताइएको छ ।

डार्क वेब इन्टरनेटको त्यो हिस्सा हो जसलाई सर्च इन्जिनमा सूचीकरण गरिँदैन । विशेषज्ञका अनुसार इन्टरनेटमा आमरूपमा हामीले प्रयोग गर्ने गरेको ‘सर्फेस वेब’ को हिस्सा केवल पाँच प्रतिशत मात्रै हो । इन्टरनेटको आमप्रयोग बाहिरको बाँकी ९५ प्रतिशत हिस्सालाई ‘डिप वेब र डार्क वेब’ले ओगटेको छ ।

‘डार्क वेभ’ मानव तस्करी, लागुऔषध तस्करी, सरकारका प्रतिरक्षा गोपनियताहरु ह्याक गर्ने, बालबालिका तस्करी तथा चाइल्ड पोर्नोग्राफी, हतियारको खरीदबिक्रि, यौन भिडियो सार्वजनिक, आतङ्ककारी गतिविधि र साइनाइड जस्ता विषको बिक्री लगायतका खतरनाक अपराधहरु हुने गर्छन् ।

सन् १९९० को दशकमा अमेरिकाले सुरु गरेको ‘डार्क वेब’मा हामी सहजै प्रवेश गर्न सक्दैनौं ।  यस्ता वेब साइटसम्म पुग्न हामीले आफ्नो ‘आइपी एड्रेस’ परिवर्तन गर्नुपर्ने र खास ब्राउजर प्रयोग गर्नुपर्ने हुन्छ ।

आशिष देउलाले त्यहि ‘डार्क वेभ’ मा आफूले दिएका पाशविक यातना बेचेर मोटो रकम कमाउने गरेको पीडित युवकका केही साथीहरुले बताएका थिए । प्रहरी भने, यो पाटोमा अनुसन्धान नगरेको एसपी नवराज अधिकारीले बताए । उनले आशिषलाई त्यो बारेमा नसोधेको बताएका छन् ।

 

 

प्रतिक्रिया