धान बोक्ने ट्रकमा १ करोडको कपडा बरामद


वीरगञ्ज – भारतबाट वीरगञ्ज आईसीपीको बाटो हुँदै धान बोक्ने ट्रकमा लुकाइ भन्सार छलेर ल्याइरहेको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

उक्त बाटो हुँदै काठमाडौं जान लागेको बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रक सशस्त्र प्रहरीले बरामद गरेको हो ।

आईसीपीमा भन्सार जाँचपासपछि बाहिरिएको धानको ट्रक चेकजाँच गर्दा धानको बोरामुनि कपडा लुकाएर ल्याएको पाइएपछि मंगलबार ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ । बरामद गरिएको कपडाको मूल्य १ करोड ५ लाख रुपैयाँ मूल्यांकन गरिएको राजश्व अनुसन्धान कार्यालय बाराका प्रमुख टंक पाण्डेले जानकारी दिए ।

भारतीय ट्रकमा माथि दुई लेयर धानको बोरा राखेर तल सटिङ सुटिङ, कुर्ता सलवार, सारी लगायतका कपडा फेला परेको थियो । कपडासहितको ट्रकलाई आवश्यक कारबाहीका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको छ ।

 

प्रतिक्रिया