श्रीमानसँगै होटलमा बसेकी महिलाको शंकास्पद मृत्यु
धनुषा – जनकपुरमा श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला परेकी छन्। म्याग्दीको मेलानी गाउँपालिका–७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली बुधबार मृत फेला परेकी हुन्।
जनकपुरधाम उप–महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउस नजिकै शंकास्पद अवस्थामा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।
एसपी रानाभाटका अनुसार होटलको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी सिर्जना होटल बाहिर मृत फेला परेकी हुन्।दुई दिनअघि सिर्जना आफ्ना श्रीमान विश्वास श्रीपालीसँग होटलमा आएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
होटल छेउमा रहेको हिलो जमेको ठाउँमा उनको शव फेला परेको हो। श्रीमानसँगै होटलमा बसेकी सिर्जनाले हाम फालेर आत्महत्या गरेकी हुन् कि कसैले खसाएको हो भने खुलेको छैन्। ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ एसपी रानाभाटले बताए।