पूर्वलडाकुको घरमा पड्केकाे बम सशस्त्र द्वन्द्वकालकै, जसले लियाे दाजुबहिनीको ज्यान


काठमाडौँ-  पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाँडागाउँको एक घरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालको भएको पाइएको छ । बम विस्फोट हुँदा दुईजना नाबालककाे मृत्यु भएकाे थियाे । मृत्यु हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई वर्षीय प्रियसा साँवा छन् ।

खेल्ने क्रममा बालबालिकाहरुले घर नजिकैको अम्रिसो बारी बम भेटेका थिए । तर, खेलाैना मानेर हम्मरले हान्दा बम विस्फोट भएकाे थियाे ।

विस्फोट भएको घरका धनी आइतराज केरुङ  पूर्वलडाकु हुन् । तर उनी  त्यहाँ बस्दैनन् । दश वर्षअघि छिमेकीलाई घरको रेखदेख गर्न भनेर उनी सदरमुकाम  बस्दै आएका छन् ।

प्रहरीले भने बम पहिलादेखि नै सो घरमा रहेको बताएकाे छ । विस्फोट भएको बम द्वन्द्वकालीन विस्फोटक पदार्थकै एक हिस्सा रहेको आशंकासहित प्रहरीले माथिल्लो तहमा ब्रिफिङ गरेको छ ।

साेही ब्रिफिङका आधारमा शुक्रबार गृहमन्त्री रमेश लेखकले पत्रकारहरुसँगको अन्तक्रिर्यामा पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको बताएका छन्  । ‘प्रहरीसँग लामो कुराकानी भयो । यो कसरी पड्कियो भनेर सोधेको थिएँ । हामीलाई प्राप्त जानकारीअनुसार यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको छ ’ गृहमन्त्री लेखकले भने ।

उनले अर्को बम पनि झाडीमा फेला परेको र त्यसलाई नेपाली सेनाले निष्क्रिय बनाएको जानकारी दिए ।

प्रतिक्रिया