एकल आमाकी प्यारी मुनाकाे अमेरिकामा गोली हानेर हत्या


काठमाडाैं- ५ वर्षअघि श्रीमानबाट छुट्टिसकेपछि भोजपुरकी अनिता पाण्डेले आफ्नी छोरी मुनालाई धेरै संघर्ष गरेर हुर्काएकी थिइन् । एक्ली छाेरी मुनालाई उनले  २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका पठाएकी थिइन् ।

सुरुमा नेपालबाट जाँदा उनी टेक्सासमा साथीसँग बसिन् । तर अहिले भने उनी एक्लै अपार्टमेन्टमा बस्दै आएकी थिइन् । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत उनी उता गएबाट आमा अनितासँग निरन्तर सम्पर्कमा थिइन् ।  तर, कहिलेकाँकी घुम्न जाँदा भने उनी  अफलाइन हुनेगरेकी थिइन् । गत शनिबारदेखि पनि उनी अफलाइन थिइन् ।

यता अनिताले कतै घुम्न गएको होला भन्ने ठानेर त्यति चिन्ता लिइनन् । तर,  साेमबारसम्म पनि सम्पर्कमा नआएपछि उनकाे खाेजतलास सुरू भयाे । साेही क्रममा मुना सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

जानकारी पाएपछि प्रहरीको टोली उनी बस्ने वेष्ट एयरपोर्ट ब्लुभार्डमा  पुगेको थियाे । त्यहाँ पुग्दा २१ वर्षकी मुना मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दियाे । त्याे खबर सुनेर अनिता छाँगाबाट खसेजस्ताे भइन् । उनले  हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् । साथै मुनाको न्यायका लागि सघाउन अमेरिकामा रहेका नेपालीहरुलाई अनुरोध समेत गरेकी छिन् ।

मुनाको एकजना श्वेत अमेरिकनसँग प्रेमसम्बन्ध रहेको पारिवारिक स्राेतले बातएकाे छ । मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियोपनि आमा अनितालाई पठाउने गरेको  । तर पछि भने उनीहरुबीच सम्बन्ध त्यती राम्रो नभएको समेत मुनाले आमालाई बताएको जनाइएको छ ।

अहिलेसम्म घटनामा कोहीपनि संदिग्ध फेला नपरेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको नेपयोर्कले उल्लेख गरेको छ ।

ह्युस्टन प्रहरीले विज्ञप्ती जारी गर्दै मुनालाई धेरै बन्दुकको गोली लागेको भेट्टाएको बताएको छ । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटना कहिले र कसरी भएको हो भन्नेबारे  पुष्ट विवरण प्राप्त भएको छैन ।  घटनास्थलमा कुनै हतियार पनि नभेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया