अमेरिकामा नर्सिङ पढिरहेकी छोरीको हत्यापछि के भन्छिन् मुनाकी आमा ?


काठमाडौं- अमेरिकाको टेक्सस राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा मारिएकी नेपाली युवती मुना पाण्डेकाे हत्या भएकाे छ । उनलाई बेडमा नै गोली हानिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

मृत अवस्थामा सोमबार बिहान फेला परेकी पाण्डेलाई हत्यारा उनको कोठाभित्रै पसेर गोली हानेका धेरै प्रमाणले पुष्टि गरेको बताइएको छ ।

वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको उनको अपार्टमेण्टभित्र मुनाले राखेको पर्सनल सर्भिलेन्स क्यामेराका भिडियो फुटेजका आधारमा प्रहरीले उक्त दाबी गरेको त्यहाँको नेपाली समुदायले जनाएको छ । उनको शरीरमा तीन वटा गोली प्रहार गरिएको पाइएको छ ।

शव गन्हाइसकेको र बेडमा लागेका रगत सुकिसकेकाले उनको हत्या दुई दिनअघि भएको प्रहरीको आशंका छ । भोजपुरकी २१ वषीया मुना अध्ययनको सिलसिलामा सन् २०२१ मा अमेरिका गएकी हुन् । नेपालमा उनकी आमा मात्रै रहेको बताइन्छ ।

५ वर्षअघि श्रीमानबाट छुट्टिसकेपछि भोजपुरकी अनिता पाण्डेले उनलाई निकै सर्घष गरेर हुर्काएकी थिइन् । छोरीको मृत्युको खबरले यता आमाका आसुका धारा थामिएका छैनन् । उनी अमेरिका गएर हत्या पक्राउ परेको हेर्न र शव बुझ्न चाहेको खसोखाससँग बताएकी छिन्  ।

घटनापछि यस्तो भन्छिन् अनिता:

उसको बुवा सिपाही हो । मैले नै हुर्काएको हो, फोटोग्राफी पसल चलाएर । कति दुःखले, कति संर्घष गरेर हुर्काएको बच्चालाई कसले यस्तो गरिदियो । मिठोमसिनो खान दिएपछि यत्रो किन दिइस् भनेर उसको बुवाले कुटपिट गर्थे मलाई, लुकाईलुकाई दिनुपथ्र्यो । लगाउने लुगा ल्याइदिए काटेर फालिदिन्थे ।

छोरी ठूली भएपछि सहनै सकिएन । मम्मी म यहाँ बस्न सक्दैन, पढ्न सक्दैन भनेर उसकै खुसीका लागि डिभोर्स गरेको हुँ । पहिले पनि डिभोर्सका लागि उजुरी दिएर फिर्ता लिएको थिएँ, तर कुट्न नछोडेपछि फेरि डिभोर्स गरेको हुँ । नानीको भविष्यको लागि डिर्भोस गरेको हुँ ।

बुवाले हेपेपछि सबैले हेप्छन् मम्मी हामीले केही गरेर देखाउनुपर्छ भन्ने गर्थी । अमेरिका गएर पढ्छु भनेर एकदमै साहस गरेर गएकी थिइन् । उता पुगेपछि पनि अब एकवर्ष मात्रै हो । एक वर्षपछि कमाइहाल्छु भनेर भन्ने गर्थिन् ।

कहिले कलेजको फि त कहिले गाडी ठोक्कियो भनेर भन्थिन् । मैले खर्च पठाउँथे । नर्सिङ पढन गएकी थिइन् । अगस्तमा तीन वर्ष भएको थियो । अस्ति शुक्रबारबाट छोरीसँग कुराकानी भएको थिएन । मेसेज पनि सिन गरिनन् । व्यस्त होला भन्ने ठाने । ४ दिनपछि मात्रै उसको साथीले उक्त दुःखद खबर सुनाए । साथीहरुलाई पनि घटनाको बारेमा थाहा भएन भन्छन् । कुन जन्मको पाप हो, कुन हत्याराले मार्यो मेरो छोरी । हत्यारा पत्ता लागोस् भन्ने मेरो माग हो ।

गएको पुषमा एउटा अमेरिकन केटाले फ्लो गर्दैछ मलाई, मोबाइल नम्बर मागेर बिहे गर्ने प्रस्ताव गरेको थियो भनेर भनेकी थिइन् । कोर्टम्यारिज गरेर सँगै फ्ल्याटमा बसौं भनेर भनेको सुनाएकी थिइन् । तर, ३ महिनाअघि भने त्यो मान्छे व्यवहारिक कुरा गर्दैन, त्यस्तोसँग राम्रो हुँदैन भनेर भनेकी थिइन् । अब उसँग बिहे गर्दिन भनेकी थिइन् ।

मेरो एउटै छोरी हो, त्यसकै लागि बाँचेको थिए । अब संसारै सकियो मेरो । बस् नानीको न्यायका लागि म अमेरिका जान चाहान्छु । हत्यारा पत्ता लगाउन चाहान्छु । अहिले काठमाडौंमा भाडामा बसेको छु, आर्थिक अवस्था कमजोर छ, कसरी जाने होला अमेरिका ?

प्रतिक्रिया