सुदूरपश्चिमको मौलिक पर्व गौरा सुरु


काठमाडौं- सुदूरपश्चिमको मौलिक पर्व गौरा शनिबारदेखि सुरु भएको छ । प्रदेशका ९ जिल्लासंगै सुदूरपश्चिमेलीहरूले बसोबास गर्दै आएका अन्य क्षेत्रमा समेत मनाइदै आएको गौरा पर्व आजदेखि सुरु भएको हो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाँइदै छ ।

‘आज भाद्र कृष्ण पञ्चमी अर्थात् सुदूरपश्चिमेलीहरूको महान चाड गौरा पर्वको पहिलो दिन हो,’ उनले भने, ‘आजको दिनलाई बिरूडा पञ्चमीका रुपमा मनाउने गरिएको छ । आजको दिन पाँचथरी गेडागुडी (गहत, गहुँ, केराउ, मास र गुराँस) लाई संकलन गरेर बिधिवत् कर्मकाण्ड र फाग गाउँदै भिजाउने गरिएको छ ।’

उनका अनुसार गौरा पूजनका लागि प्रयोग हुने अक्षता र प्रसादस्वरूप संकलित बिरूडालाई एउटा पवित्र ताम्रपत्र, पित्तल वा उपलब्ध भाँडामा एकसाथ मिलाई मांगलिक पूजाआजाका साथ ब्रतालु महिलाहरूबाट बिरूडा भिजाउने काम गर्ने गरिएको छ । शनिबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ । सोही दिन फाग, धमारी चाचरी, सगुना, डेउडा लगायातका गीत गाउनुका साथै खेल खेल्ने चलन पनि छ । सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ ।

त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन छ । अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र डेउडा खेल्ने चलन छ ।

प्रतिक्रिया