खाजा घरकी सञ्चालिका संगीतासहित चार जना पक्राउ


काठमाडौं – लागुऔषधसहित विभिन्न स्थानबाट चारजना पक्राउ परेका छन्।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका-१० बसपार्कस्थित संगिता खाजा घरकी संचालक दैलेख भैरवी गाउँपालिका-१ घर भएकी ३९ वर्षीया संगीता कार्कीलाई लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

नगर प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

त्यस्तै झापाको मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय ६० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दमक नगरपालिका-११ बस्ने २४ वर्षीय निलजङ बस्नेत र मोरङ उर्लाबारी नगरपालिका-२ बस्ने २४ वर्षीय खुमराज भण्डारी रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

उता कञ्चनपुरको भिमदत्त नगरपालिका-६ चम्मन चौराहस्थित गोकुलेश्वर म:म सेन्टरका संचालक सोही नगरपालिका-१८ निम्बुखेडा घर भएका ४४ वर्षीय मदन नाथलाई लागुऔषध चरेश जस्तो देखिने पदार्थ ३ सय ६० ग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

 

प्रतिक्रिया