

सहकारीको रकम हिनामिना गरेका गाउँपालिका अध्यक्ष कुँवर फरार, खोज्दै प्रहरी

स्याङ्जा – सहकारीको रकम हिनामिना गरेको आरोप लागेका स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका छन् ।
सूर्योदय सहकारीको बचतकर्ताको रकम अपचलन गरेको आरोप उनीमाथि छ । उनको समेत संलग्नतामा ३ करोड ६६ लाख रुपैयाँ हिनामिना भएको छानबिन समितिले पत्ता लगाएको हो ।
सूर्योदय र जनजागृति सहकारी मिलेर २०७४ सालमा सूर्योदय सहकारी बनेको थियो ।
सहकारीको सचिवका रूपमा काम गरेका कुँवरले बचत रकम अपचलन गरी एमालेका सांसदलाई दिएको र उनले समेत निर्वाचनमा खर्च गरेको पाइएको छानबिनमा संलग्न एक अधिकारीले बताएका छन् ।
छानबिनमा दोषी देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अहिले प्रहरीले उनको खोजी गरिरहेको पनि जनाइएको छ ।

