२३ वर्षीय युवकको ४९ वर्षकी महिलासँग ‘लभ’, विवाह गर्न कर गरेपछि हत्या


काठमाडाैं- गत शनिवार रुकुमपश्चिममा ४९ वर्षीया महिलाकाे हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हत्या आरोपमा रुकुम पश्चिम चौरजाहरी नगरपालिका-११ माथिल्लो सकेंना बस्ने २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

युवक प्रेमको मायाजालमा परेकीले सानोभेरी गाउँपालिका–४, लामचौरकी सुशीला मल्लले विवाह गर्न दवाव दिएपछि हत्या भएको खुलेको खुलेको छ ।

सुशीला र प्रेमबीच डेढ वर्ष अगाडि जाजरकोट रिम्ना मेलामा चिनजान भएको र त्यतिबेला फोन नम्बर साटासाट गरेर बेला–बेला भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार घाँटीमा सल बेरिएको अवस्थामा घाँटी, निधार र अन्य शरीरको भागमा चोटपटक लागेको अवस्थामा शव बरामद गरिएको थियो । साउन २१ गते सोमबार प्रेम भेटघाटका लागि सुशीलाको घरमा गएको स्थानीय बताउँछन् ।

सोही दिन राति दुवै जनासँगै बसेको र साउन २२ गते मंगलबार बिहानै उठेर दुवै जना रिम्ना बजार गएर घुमेको प्रहरीले जानकारी दिएको छ । विवाहका लागि सुशिलाले प्रेमलाई दवाव दिएपछि आरोपितले फलामको तावा, सिलौटोलगायतका घरेलु हतियार प्रयोग गरी सलले घाँटी बाँधेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा प्रेमले घटनापश्चात मृतक सुशीलाको मोबाइल साथमा लिइ आफ्नो कोठामा लुकाएर राखेको बताएपछि प्रहरीले सो मोबाइल पनि बरामद गरेको छ ।

प्रेमविरुद्ध कर्तव्य ज्यान मुद्दामा रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया