अख्तियार र सतर्कता केन्द्रभन्दा पनि ठूला मेडिकल माफिया भण्डारी र पण्डित

गंगालाल अस्पतालमा कर्मचारीको मिलेमतोमा मेडिकल माफियाको रगजग


काठमाडौं – सरकारी निकायहरुमा भ्रष्टाचार हुने गरेको भन्ने तथ्य कुनै नौलो होइन । अन्य सरकारी कार्यालय जस्तै आम जनताले उपचारका लागि धाउने अस्पतालहरुमा पनि भ्रष्टाचार देखिनु भने असामान्य होइन । तर शरिरको सबैभन्दा महत्वपूर्ण अंग मानिएको मुटुको सबैभन्दा राम्रो अस्पताल शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा मेडिकल माफियाको रजगजले ठूलो आर्थिक अनियमितता हुने गरेको भेटिएको छ । जसको कारण सर्वसाधारणलाई आर्थिक भार थपिँदै आएको छ ।

मेडिकल माफिया र कर्मचारीको कमिशनको खेलले सस्तो स्वास्थ्य सामाग्री पनि महंगोमा खरिद गरी सर्वसाधारणलाई भार थोपरिँदै अएको हो । राज्यले स्वास्थ्य क्षेत्रलाई निःशुल्कको नारा लगाइरहँदा पनि कर्मचारीको बदमासीको कारण स्वास्थ्य क्षेत्र थप बदनाम हुँदै गएको छ ।

अस्पतालबाट आर्थिक वर्षको अन्त्यतिर आवश्यक पर्ने भन्दै करोडौं रुपैयाँ बराबरको सामान खरिदका लागि गरिएको टेण्डर केही मेडिकल माफियाहरुले मात्र पाउने गरी प्रकाशित गरिएको छ । त्यसका लागि मेडिकल व्यवसायी भनिने माफियाका रूपमा चिनिएका यज्ञ भण्डारी र विशाल पण्डितले अस्पतालका कार्यकारी निर्देशक डा. रवि मल्ल र सर्जरी विभागका प्रमुख डा. रामेश कोइरालासँग मोटो रकम चलखेल गरी करोडौंको टेण्डर हात पार्न सफल भएका छन् ।

केन्द्रको स्वास्थ्य सामाग्री खरिद गर्नका लागि भण्डारी र पण्डितले डाक्टरद्वय मल्ल र कोइरालासँग मिलेर सेटिङ गरेको आरोप लागेको छ । भण्डारी र पण्डितले गंगालाललगायतका स्वास्थ्य संस्थामा लामोसमयदेखि यस्तै गरी सेटिङमै सामान आपूर्ति गर्दै आएको स्रोतको दाबी छ ।

गंगालाल अस्पतालमा आवश्यक पर्ने सर्जिकल, मेडिकल, क्याथ ल्याब, डिस्पोजेबल र अन्य सामान खरिदका लागि २०८१ जेठ १२ गते बोलपत्र स्वीकृत गर्ने आशयको ७ दिने सूचना निकालेको थियो । उक्त सूचनामा विभिन्न ३९ कम्पनीहरुको दररेटसमेत आशय स्वीकृत गरिएको जनाइए पनि त्यसको एकसाता नबित्दै सोही सामाग्री खरिदका लागि २०८१/०२/१८ मा पुनः बोलपत्र आह्वान गरेको थियो । २०८०/८१ को टेण्डर आर्थिक वर्ष समाप्त हुनुभन्दा केही दिनअघिमात्र करोडौंको टेण्डर निकालिनु पर्ने अर्को सेटिङ रहेको देखिएको छ ।

सो आशयपत्रमा अनियमितता भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रलगायतमा उजुरी परे पनि केही अनुसन्धान भएको भने देखिएन । आर्थिक वर्षको अन्तिममा आएर हतार–हतारमा सार्वजनिक खरिद ऐन र कानुनी व्यवस्था विपरित टेण्डर फाइनल गरेको अवैधानिक छ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । तर सो सम्बन्धमा अख्तियार र खरिद अनुगमन कार्यालयले कारबाही अगाडि नबढाएपछि अस्पताललाई आवश्यक पर्ने १२ करोडको सामान खरिद प्रकरणमा व्यापक अनियमितता भएको जनाइएको छ ।

आशयपत्रमा विभिन्न कम्पनीहरुले गरेको बोलकबोल रकमसमेत उल्लेख गरिए पनि पुनः निकालिएको टेण्डरपछिको सोही सामानहरुको आशयपत्र भने ती कम्पनीहरुले फरक दरभाउ स्वीकृत भएको देखिएको छ ।

अस्पतालले २०८१/०३/१९ मा प्रकाशित गरेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचनामा भने लाखौं रुपैयाँको फरक देखिएको छ । एउटै सामानका लागि एउटै कम्पनीबाट एक महिनाकै अन्तरमा लाखौं रकम बढीमा सामान खरिद गरेको भेटिएको पाइएको छ ।

यज्ञ भण्डारीको सिन्धु सर्जिकल कन्सर्न प्रा.लि.ले अघिल्लो आयशमा ५५ लाख २ हजारमा स्वीकृति पाएकोमा पुनः बोलपत्र माग गरिएको आशयमा भने ८० लाख २९ हजार स्वीकृत पाएको भेटिएको छ ।

त्यस्तै म्याक्स मेडिटेक सिस्टम प्रालिले पनि अघिल्लो आशयपत्रमा १ करोड १ लाख ८७ हजारमा स्वीकृति पाएको छ भने दोस्रो आशयपत्रअनुसार १ करोड २६ लाख ४८ हजार २५० मा स्वीकृति पाएको छ । यो कम्पनीमा पनि भण्डारी अप्रत्यक्ष रुपमा संलग्न रहेको जनाइएको छ ।

अस्पतालले आशय स्वीकृति गरेका कम्पनीहरुमा भण्डारी र पण्डित कतिमा प्रत्यक्ष र अधिकांशमा अप्रत्यक्ष जोडिएको पनि दाबी गरिएको छ । यज्ञ भण्डारीले लामो समयदेखि केन्द्रमा एकलौटी रुपमा स्वास्थ्य सामग्री आपूर्ति गर्दै आएका छन् । भण्डारीले किन र कसरी लामो समयदेखि एकलौटी रुपमा स्वास्थ्य सामग्री आपूर्ति गर्न सफल भए प्रश्न उठेको छ ।

अस्पतालको उक्त सामाग्री खरिद प्रकरणमा भण्डारी र पण्डितकै कारण डा।द्वय मल्ल र कोइरालाले अन्य कम्पनीहरुलाई छिराउन सकेका छैनन् । स्वास्थ्य सामग्रीहरूको विषयमा अध्ययन नै नगरी हचुवाको धेरै कम्पनीहरू प्रतिस्पर्धाबाटै हटेका छन् । मेडिकल माफियाले उनीहरूलाई ५ देखि १५ प्रतिशतसम्म कमिशन दिने गरेको समेत चर्चा छ ।

प्रतिक्रिया