

नवलपरासीमा हावाहुरीले रुख ढल्दा दुईजनाको मृत्यु, तीन घाइते

नवलपरासी- नवलपरासीको सुनवल नगरपालिका–७ मा शुक्रबार दिउँसो आएको हावाहुरीका कारण रुख ढल्दा दुई जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
दिउँसो करिब ४ः३० बजे आएको पानीसहितको तेज हावाहुरीबाट जोगिन स्थानीयवासी प्रतीक्षालयमा बसेका थिए। सो क्रममा नजिकैको रुख ढलेर प्रतीक्षालयमा खस्दा छाना भत्किएको थियो। भत्किएको छानामुनि परेर उनीहरू च्यापिएका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको हो। गम्भीर घाइते हुनेमा ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वर खाम्चा मगर र २२ वर्षीय अनिल थापा रहेका छन्।
तीनै जना घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबै पीडित सुनवल नगरपालिका–७, ज्यामिरेका स्थानीय हुन्।

