चोरीको मोटरसाइकलसहित २ जना पक्राउ, ३० मोटरसाइकल बरामद


काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाएको छ।

महाशाखाले पीडित सहायता इकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गोंगबु बस्ने अशोकमान सिंह कुवरको हराएको बा९२प ९१३३ नंम्बरको निलो बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० बर्षे बिमल गुरुङ्ग र मोरङ्ग बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाइकलसहित पक्राउ गरेको हो।

उक्त मोटरसाइकलको बास्तबिक नम्बर प्लेट परिबर्तन गरि बा९६प ४५९० नम्बर प्रयोग गरेको अबस्थामा उनीहरूलाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

यस्तै महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरि ३० वटा मोटरसाइकल खोजतलास एव बरामद गर्न सफल भएको छ।

उक्त चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका छन्।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिदै आएको बताए। उनले भने, ुयसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका छौँ, त्यस टोलीले नियमित रूपमा खबर संकलन गर्ने तथा विशेष अपरेशन मार्फत मोटरसाईकल बरामद गर्ने गर्दछ भने चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गर्ने गर्दछन्।ु

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी,  माछापोखरी, गोकर्णेश्‍वर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका विभिन्न स्थानहरुबाट यी मोटरसाइकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए।

ट्राफिक महाशाखाले बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्दछन्, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको र अन्य अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको महाशाखाले जनाएको छ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३३१ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाका एसपी श्यामकृष्ण अधिकारीले बताए।

चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाईन सेवा Lost Vehicle Application मा Login गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानरी गराउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया