महोत्तरी कारागारभित्रै मदिरादेखि लागू औषधसम्मको कारोबार !


महोत्तरी – महोत्तरी कारागार जलेश्वरभित्रै अवैध धन्दा हुने गरेको खुलेको छ । विशेष गरी जेल प्रशासन र केही कैदीहरुको मिलेमतोबाट कारागारभित्र मदिरादेखि अवैध लागू पदार्थसम्म भित्रिने गरेको स्रोतको दाबी छ ।

जेलर रामचन्द्र शाह र खरिदार रविन्द्र ठाकुरसँगै मिलेर जेलका कैदी चौकीदारको योजनामा उनी निकट कैदीका केही नाइकेको मिलेमतोमा अवैध लागू पदार्थ जेलभित्र भित्र्याइँदै आएको स्रोतको छ ।

जेलर शाहले कैदी चौकीदारदेखि नाइके बनाउनकै लागि लाखौं रकम घुस लिएको समेत जनाइएको छ । त्यस्तै जेलर शाह र खरिदार ठाकुरले कैदीहरुको सरुवामा पनि रकम चलखेल गरेको जनाइएको छ ।

जेलर शाहले जेलका केही बिचौलियाहरुसँग चौकीदारको लाइनमा रहेका शिवकुमार रायलाई सरुवा गर्नकै लागि १० लाख रुपैयाँ लिएको स्रोतको दाबी छ । रायलाई झुम्का कारागार लखेएिको छ भने अर्का कैदी हरेन्द्र ठाकुरको सरुवाका लागि ५ लाख रुपैयाँ घुस लिएर सुनसरी कागारार पठाइएको स्रोतको दाबी छ ।

थुनामा रहेका चन्द्रदिप यादव, सञ्जय शाह (करेला), प्रदीप शाह माझी, वीरेन्द्र ठाकुर, हरिदेव यादव, पवन लामा र नारायण थापाले हालका चौकीदारसँगको मिलेमतोमा जेलर शाह र खरिदार ठाकुरलाई हातमा लिएर चौकीदारको लाइनमा रहेका अन्य कैदीहरुलाई अन्यत्र जेलमा लखेट्दै आएका छन् ।

विभिन्न मुद्दामा बन्दी जीवन बिताइरहेका केही आफूअनुकूलका कैदीहरुलाई चौकीदार, नाइके र सहनाइके बनाउनकै लागि लाखौं रकमको खेल हुने गरेको छ । त्यसका साथै उनीहरुले चौकीदारको लाइनमा रहेका कैदीलाई अन्यस्थानमा सरुवा गरी समयभन्दा अगाडी नै चौकीदार बन्ने प्रयास पनि गरिरहेका छन् ।

कैदीहरुसँग समन्वय गर्न र आन्तरिक व्यवस्थापनको लागि बन्दीहरुबाटै चौकीदार, नाइके वा सहनाइके तोक्न सकिनेछ नियममा रहेको छ । त्यसका लागि कैद कट्टा नहुने कसूरमा कैदमा रहेको व्यक्तिलाई तोक्न नपाइने नियम रहेता पनि जलेश्वर कारागारमा भने त्यसको ठाडो उल्लंघन गरिएको छ । कर्तव्य ज्यान र लागू औषध मुद्दामा थुनिएका कैदीहरुले पनि चौकीदार, नाइकेका लागि जोडबल गरिरहेका छन् ।

त्यसबाहेक कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका प्रदीपको जेल बाहिर रहेको किराना पसलबाट जेलर र कर्मचारीको मिलेमतोमा खुलेआम मदिरा र लागूऔषध जेलभित्र लगिने र अन्य कैदीहरुलाई महंगो रकममा बिक्री गर्ने गरेको पनि खुलेको छ । माझीको पसलबाट सिवम भनिने भाङलगायतका लागू औषधजन्य पदार्थहरु पनि जेलभित्र लैजाने गरिएको छ । त्यसरी लगिएको लागूऔषध उनीहरुले महंगो दरमा अन्य कैदीहरुलाई बिक्री गर्ने गरेका छन् । उनीहरुले जेलभित्र चुरोट, खैनी जस्ता पदार्थ पनि बेच्ने गरेका छन् ।

प्रतिक्रिया