०८४ को चुनाव एक्लै लड्ने माओवादी केन्द्रको निर्णय


काठमाडौँ – नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ । शुक्रबारदेखि केन्द्रीय मुख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् । सरकारबाट हट्नुपर्ने परिस्थितले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको ‘प्रचण्डले बताएका छन् ।

‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरू, हाम्रा राजनीतिक कार्यदिशाहरू, हाम्रा दृष्टिकोणहरू जनतामा सोझै पुग्न सकियोस्’, बैठकको निर्णय जानकारी दिँदै प्रवक्ता सापकोटाले भने ।

यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरू जनतामा लैजान अप्ठ्यारो परेको उनले बताए । तर एक्लै चुनाव लड्दा पार्टीको कुरा जनतामा राख्न सकिने अवसर मिल्ने निष्कर्ष समेत बैठकले निकालेको छ । ‘हामीले के निष्कर्ष निकालेका छौँ भने यो जनतामा जाने सुवर्ण अवसर पनि हो’, सापकोटाले भने ।

बैठकले वामपन्थी सहकार्य र एकताको पहलकदमी पनि नछोड्ने पनि निर्णय गरेको छ । ‘देशभक्त र अग्रगामीहरूको संयुक्त मोर्चा पनि बनाउनुपर्छ, साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठनका निम्ति निरन्तर निरन्तर गरिरहनुपर्छ’, उनले भने ।

प्रतिक्रिया