चीनबाट नेपाल हुँदै भारतमा ई–सिगरेट ‘तस्करी’, नोयडामा पक्राउ परेपछि खुल्यो रहस्य


काठमाडौं– चीनबाट नेपाल हुँदै भारत ल्याइएको आठ लाख भारुबराबरको अवैध ई–सिगरेट बरामद गरिएको छ । नोयडा प्रहरीले सो सिगरेट बरामद गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सिगरेट ‘तस्करी’ गर्ने व्यक्तिलाई सोमबार नोयडाको सेक्टर ३९ बाट पक्राउ गरिएको छ ।

बरामद भएको सिगरेट नेपाल हुँदै मारुती स्वीफ्ट कारमा उत्तराखण्डबाट दिल्ली लगेर बेच्ने तयारी गरिएको थियो । पक्राउ गरिएका व्यक्ति उत्तराखण्डको उद्धमसिंह नगरमा बस्ने ३५ वर्षीय रियाज अहमद भएको नोयडा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मल्टी फ्लेभरको उक्त ई–सिगरेट अमेरिकामा डिजाइन गरिएको र चीनमा बनाइएको हो । प्रहरीका अनुसार, त्यस्ता ई–सिगरेट दिल्लीका बार र रेस्टुरेन्टहरूमा बिक्री गर्ने गरिएको छ । प्रहरीले उक्त कारलाई पनि ‘सिज’ गरेको छ ।

भारतीय प्रहरीले यसअघि पनि गएको जुन १४ मा एक करोड भारुको ई–सिगरेटसहित दुईजनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया