

दम्पत्ति अपहरण प्रकरणः चार शंकास्पद व्यक्ति सार्वजनिक, अपहरितको अवस्था अज्ञात

काठमाडौं – फागुन १० गतेदेखि मोहत्तरीको पिपरा गाउँपालिका–५ का मुसाफिर झा र उनकी पत्नी गितादेवी झा घरमा सुतिरहेको अवस्थामा खाटसहित बेपत्ता भए। एक महिना पुग्न तीन दिन बाँकी छ।
प्रहरीले आइतबार उनीहरुको अपहरणमा संलग्न चार जनालाई सार्वजनिक गरेको छ। पिपरा गाउँपालिकाका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव र २४ वर्षका राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरेको हो।
घटनामा उनीहरु चारै जनाको संलग्नता देखिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० दिनेश आचार्यले बताए। एसपी आचार्यले भने, ‘घटनाका मुख्य योजनाकार ठाकुर रहेको हाम्रो अनुसन्धानको निष्कर्ष छ।’
एसपी आचार्यकाअनुसार उनीहरुले भने अपराध स्वीकार गरिसकेका छैनन्। ‘उनीहरुले अपराध नस्वीकारे पनि अनुसन्धानबाट संलग्नता पुष्टि भइसकेको छ। झा दम्पतीलाई जग्गा बेच्न दबाब दिएको र नबेचेपछि अपहरण गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने।
पोलीग्राफ परीक्षणमा पनि चारै जनाको रिपोर्ट नेगेटिभ आएको एसपी आचार्यले बताए। घटनामा संलग्न पक्राउ परेको दावी प्रहरीले गरे पनि झा दम्पतीको अवस्था अझै अज्ञात छ।
एसपी आचार्यले पक्राउ परेकाहरु झा दम्पतीलाई कहाँ राखेको छ भन्ने कुरा खुलाउन नचाहेको बताए। जसले गर्दा झा दम्पतीको हत्या भइसकेको प्रहरीको अनुमान छ। तर पुष्टि भने अझै हुन सकेको छैन्।
बेपत्ता भएकै दिनदेखि प्रहरीले उनीहरुको अपहरण भएको हुन सक्ने अनुमानमा खोजी कार्य शुरु गरेको थियो। तर, घटनाको करिब एक महिना बितिसक्दा पनि उनीहरुको अवस्थाबारे प्रहरीले कुनै संकेतसम्म पाउन सकेको थिएन्।
घटनामा नेपाल प्रहरीको अनुसन्धान फितलो भएको भन्दै स्थानीयले निरन्तर आन्दोलन गर्दा ४ दिन अगाडी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली महोत्तरी पुगेको थियो।

