निसर्गमा युवती मृत्यु : लापरबाही गर्ने डाक्टर बर्खास्त, यी सहमतिपछि परिवारले बुझे शव


काठमाडाैं- धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु प्रकरणमा अस्पतालसँग सहमतिपछि मृतककाे पीडित परिवारले शव  बुझेकाछन् ।

उपचारमा लापरबाही गर्ने डाक्टर ओमप्रकाश भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने,  डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने र मृतकका दाइलाई एमबीबीएस अध्ययनका लागि अस्पतालले सहयोग गर्ने सहमति भएको हाे । सहमतिपछि आज शव बुझेको मृतकका आफन्त नन्दराज जोशीले बताए ।

डाक्टर भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको साेमबार राति मृत्यु भएको थियो । डाक्टरको लापरबाहीले गर्दा नै बिरामीको मृत्यु भएको भन्दै आफन्तले हिजाे दिनभर अस्पतालमा आन्दोलन गरेका थिए ।

धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु, चिकित्सकको लापरबाही भन्दै आफन्त आक्रोशित

लक्ष्मी हेल्थ असिस्टेन्ट(एचए)को ओजेटीका क्रममा धनगढीकै नवजीवन अस्पतालमा कार्यरत थिइन् । अस्ति (साेमबार) ड्युटीबाट फर्केपछि उनको पेट दुखेकाे थियाे । त्यसपछि उनीलाई नजिकै रहेको निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँ चेकजाँच भएपछि केही औषधी दिएर साँझ ८ बजे घर फर्काइएको थियो । तर दुखाई कम नभएपछि उनीलाई पुनः अस्पतालमा लगिएको थियो ।

थप उपचारका लागि अस्पताल पुगेपछि उनलाई भर्ना गरेर दुखाई कम गर्ने विभिन्न औषधी दिइएको थियाे । तर लक्ष्मी र सँगै रहेकी आमाले त्यसरी लगातार दुखाईको ‘हाइ डोज’ औषधी थप्दै गर्दा इन्कार गरेतापनि अस्पतालले मानेको थिएन ।  अचानक उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि चिकित्सकलाई बोलाइएको थियो । पछि चिकित्सकले लक्ष्मीलाई मृत घोषणा गरेका थिए ।’

 

प्रतिक्रिया