धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु, चिकित्सकको लापरबाही भन्दै आफन्त आक्रोशित


काठमाडौं- कैलालीको धनगढीमा एक २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको छ । निसर्ग अस्पतालमा उपचारको क्रममा धनगढी उपमहानगरपालिका–१ शिवनगरकी २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति मृत्यु भएको हो । पेट दुखेर राति अस्पताल भर्ना भएकी लक्ष्मीको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकका आफन्त नन्दराज जोशीका अनुसार लक्ष्मी हेल्थ असिस्टेन्ट(एचए)को ओजेटीका क्रममा धनगढीकै नवजीवन अस्पतालमा कार्यरत थिइन् । ‘हिजो ड्युटीबाट फर्केपछि उनको पेट दुख्न थालेछ । त्यसपछि उनीलाई नजिकै रहेको निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँ चेकजाँच भएपछि केही औषधी दिएर साँझ ८ बजे घर फर्काइएको थियो । तर दुखाई कम नभएपछि उनीलाई पुनः अस्पतालमा लगिएको थियो’ उनले भने ।

थप उपचारका लागि अस्पताल पुगेपछि उनलाई भर्ना गरेर दुखाई कम गर्ने विभिन्न औषधी दिइएको उनको भनाई । तर लक्ष्मी र सँगै रहेकी आमाले त्यसरी लगातार दुखाईको ‘हाइ डोज’ औषधी थप्दै गर्दा इन्कार गरेतापनि अस्पतालले मानेको थिएन । नर्ससमेत रहेकी आमाको भनाई उद्धृत गर्दै नन्द जोशी भन्छन्, ‘उनले पीडा कम नभएको । निकाल्दिनु भन्दा पनि त्यहाँ रहेका कर्मचारीले मानेनन् । अचानक उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि चिकित्सकलाई बोलाइएको थियो । पछि चिकित्सकले लक्ष्मीलाई मृत घोषणा गरेका थिए ।’

उनका अनुसार चिकित्सकले मृत्युको ठोस कारण दिन सकेका छैनन् । ‘कसैले ह्रदयघात भन्छन् भने कोही कारण नै थाहा नपाइएको बताइरहेका छन्’ उनले भने ।

चिकित्सकले उपचारमा लापरबाही भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । मृतकका आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारबाही हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतको शव अस्पतालमै छ । अस्पताल स्रोतका अनुसार यस विषयमा अहिले बैठक बसेको छ ।

प्रतिक्रिया