माओवादीमा सल्कीदैछ विद्रोहको आगो, नेताहरुका गुटैगुट 


काठमाडौं–नेकपा माओवादी केन्द्रभित्र गुटबन्दी बढ्दै गएपछि त्यसको असर तल्लो तहसम्म देखिन थालेको छ ।

प्रायजसो सहमतीमै नेतृत्व टुङ्ग्याउँदै गएको माओवादीभित्र प्रदेशका विभिन्न संरचनामा विस्तारै अल्पमत बहुमतको प्रक्रिया अगाडी बढीरहेको छ ।

यसको कारण केन्द्रीय स्तरमै रहेका नेताहरुले गरेको गुटबन्दी हो ।

प्रायजसो माओवादी शीर्षनेताहरुले देशैभर गुट विस्तार गरेका छन् ।

पटक–पटक माओवादी अध्यक्ष प्रचण्डले गुट भत्काउने भन्दै समेत आएका छन् । माओवादीको युवा संगठन वाइसीएल र अखिल क्रान्तिकारीमा गुटबन्दी प्रष्टै देखिन्छ ।

यसबाहेक प्रदेश संसदीय दलमा पनि गुटको रोगले विद्रोहको आगो सल्कीदै गएको छ ।

मंगलबार मात्रै माओवादी केन्द्रका बहुमत सांसदले मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

माओवादी केन्द्रका नौ जना सांसदमध्ये ६ जनाले उनलाई हटाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रस्ताव दर्ता गराउनेमा संसदीय प्रमुख सचेतक फकिरा महतो, प्रदेशसभा सदस्यहरु जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारी रहेका छन् ।

यसअघि सुदूरपश्चिम प्रदेशमा पनि माओवादी संसदीय दलका नेता खगराज भट्टलाई बहुमतबाट दल नेताबाट हटाइएको थियो ।

भट्टलाई पुर्नवहाली गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिएपनि त्यसको कार्यान्वयन भएको छैन् ।

स्रोतका अनुसार वागमती प्रदेश संसदीय दलमा पनि असन्तृष्टी बढ्दो छ ।

हाल माओवादी बागमतीको संसदीय दलको नेता सालिकराम जमरकट्टेल छन् ।

लुम्बिनी र कर्णालीमा पनि दलनेताप्रति असन्तृष्टी बढ्दो छ ।

खासगरी सत्तामा जान नपाएको र मन्त्री बन्न नपाएकोमा असन्तृष्टी बढ्दै गएको थियो ।

माओावादी एक केन्द्रीय पदाधिकारी भन्छन्,‘अध्यक्षले गुटबन्दी भत्काउन नसक्ने हो भने पार्टीमा गम्भीर समस्या आउनसक्छ । गुटबन्दीको आगोले पार्टी नै सखाप हुनसक्छ । पदाधिकारीहरु नै गुटबन्दीमा छन् । कतिपय अवस्थामा त अध्यक्षकै वरिपरि रहेकाहरु गुट चलाएर बसेका छन् । प्रदेशका सांसद पनि केन्द्रकै नेताको गुटमा छन् । त्यसैले प्रदेशमा संकट देखिदैछ ।’

प्रतिक्रिया