सहकारी विकास बैंकका अध्यक्ष उप्रेती पक्राउ


काठमाडौं – राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । उनलाई आज (बुधबार) दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

उनलाई प्रहरीले सहकारीको बचत हिनामिना गरेको अभियोगमा पक्राउ गरेको हो । उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक पनि हुन् । उक्त सहकारीलाई पनि समस्याग्रस्त सहकारीका रुपमा घोषित गरिएको थियो ।

एमाले सांसद सूर्य थापा सभापति रहेको सहकारी ठगीसम्बन्धी संसदीय छानविन समितिलाई दिइएका २० समस्याग्रस्त सहकारीको सूचीमा यो पनि रहेको छ ।

उक्त सहकारीले करीव २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो । उप्रेती संसदीय छानविन समितिले मंगलवार सरोकारवालासँग गरेको छलफलमा समेत सहभागी भएर सहकारी संकट समाधानका उपायबारे सुभाव दिएका थिए ।

एमालेको केन्द्रीय सहकारी विभाग सचिव समेत रहेका उप्रेतीलाई पार्टीले केही महिनाअघि जिम्मेवारीबाट हटाएको थियो ।

प्रतिक्रिया