प्रचण्डको सत्ता संकटमा पार्ने ‘चर्चित’ पात्र बेचन झा को हुन् ?


काठमाडौं–सत्ता समिकरणमा फेरबदल आएसँगै एकजना पात्रको नाम चर्चामा छ बेचन झा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झामाथि म्याद लिएर काठमाडौं प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।

माओवादी महासचिव देव गुरुङले आज भएको एक कार्यक्रममा बेचन झा पक्राउ परेपछि सत्ता समिकरणमा फेरबदल आएको प्रतिक्रिया दिए ।

अन्य माओवादी नेताहरुले बेचन झाको नाम लिइरहेका छन् ।

नक्कली भुटानी प्रकरणमा पक्राउ परेका झाका कारण राजनीतिक तरंगीत बन्न पुगेको छ । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले झालाई आइतबार कञ्चनपुरबाट पक्राउ गरेको थियो ।

झा नक्कली भुटानी काण्डमा सर्वाधिक खोजीएका पात्र हुन । उनी एक विचौलिया र ठेकेदार हुन । कांग्रेस उच्च तहका नेताहरुसंग उनको सम्बन्ध छ ।

झा पक्राउ परेको २४ घण्टा नबित्दै केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भेट भएको थियो । त्यसैले पनि माओवादीले बेचनको नाम लिइरहेको हो ।

माओवादी आरोपको सत्यता भने प्रहरी अनुसन्धानबाट मात्रै खुल्नेछ ।

झाको सम्बन्ध कांग्रेसका शीर्ष नेता र उनको परिवारसँग रहेकाले उनी पक्राउ पर्नासाथ राजनीतिक दौडधुप र गठबन्धन फेरबदलको अवस्था आएको दाबी माओवादीको छ ।

झामाथि काठमाडौं प्रहरी परिसरले थप अनुसन्धान गरिरहेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काण्डमा झाले बिचौलियाको भूमिका मात्र होइन, मन्त्रिपरिषद्बाट नै निर्णय गराउन भूमिका खेलेका थिए ।

बेचनको नाम तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र अर्का आरोपी रामशरण केसीले बयानमा दिएका थिए । झाले नक्कली भुटानी प्रकरणमा अपराधिक गिरोहबाट २ करोड रुपैयाँ बुझेको प्रहरी अनुसन्धानमा खुलेको एक अधिकृतले बताए ।

बेचन झा एक वर्षपछि पक्राउ परेका हुन् । राजनीतिक नेताहरूसँग निकट रहेका उनी पक्राउ परेसँगै यसमा संलग्न थप राजनीतिक व्यक्तिहरूसमेत तानिने अवस्था रहेको उच्च प्रहरी अधिकृतहरु बताउँछन् ।

कागजपत्रलाई प्राप्त जानकारी अनुसार यो प्रकरणमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र आरजु राणा अनुसन्धानमा तानिने सम्भावना थियो । सत्ता समिकरणको फेरबदलसँगै यो प्रकरण सेलाउनसक्ने माओवादी नेताहरुको आशंका छ ।

बेचनले सिटौलासँग नक्कली भुटानी प्रकरणबारे गरेको सम्वाद र आर्थिक लेनदेनको प्रमाण प्रहरीले फेला पारेको स्रोतको दाबी छ ।

बेचनको कनेक्सन देखिएपछि उनीहरुमाथि अनुसन्धान गर्ने प्रहरी तयारी थियो । झाले यो प्रकरणमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका थिए ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग बेचनमार्फत भेट भएको खुलेको छ ।

पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो बेचनबारे बोलेका छन् ।

पीडितहरूसँग पैसा उठाउने गिरोहले गृह मन्त्रालयमा समन्वय गर्नका लागि झालाई दुई करोड दिएको खुलेको छ ।

पीडितहरु पहिलोपटक १९ जेठ ०७९ मा प्रहरीमा पुगेका थिए । तर गतवर्ष मात्रै तत्कालीन प्रहरीले यो फाइल फाइल खोलेको थियो ।

यो प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मा पुर्पक्षका लागि कारागारमा छन् ।

बेचन पक्राउ परेसंगै उनीहरुमार्फत नयाँ तथ्य खुल्ने सम्भावना छ । २० प्रतिवादीमध्ये नौजना फरार छन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहका इन्द्रजित राईका छोरा नीरजसहित अशोककुमार पोखरेल, निरञ्जनकुमार खरेल, धीरेन राई, दीपा हुमागाईं, मोहनराज राई, विनिता सामदेन लिम्बू, सुनील बुढाथोकी, राजेश अर्याल फरार छन् ।

बानेश्वरमा घर भएका बेचन ठूला ठेक्कापट्टामा संलग्न रहँदै आएका थिए । भारतीय नागरिक रहेका उनले पर्साबाट नेपाली नागरिकता लिएको पाइएको छ ।

कांग्रेस नेताहरूको संरक्षणमा उनी ठेक्कापट्टा र बिचौलियाको धन्दामा लागेको पाइएको छ ।

 

प्रतिक्रिया