सुदूरपश्चिमका मुख्यमन्त्रीको घरसहित बस्ती डुबानमा


काठमाडाैं- अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीको घर भएको बस्ती डुबानमा परेको छ । धनगढी उपमहानगरपालिका- १ मा शिवनगर खोलाको भंगालो बस्तीमा पसेपछि मुख्यमन्त्री सोडारीसहितका घर डुबानमा परेकाे हाे ।

३ तले घरको तल्लो तलामा पानी पसेको  मुख्यमन्त्री सोडारीकी श्रीमती गिता सोडारीले बताइन् । जसका कारण तल्लो तलामा रहेका सामान भिजेको उनले जानकारी दिइन् ।

मुख्यमन्त्री सोडारीको घर शिवनगर खोला नजिकै रहेको छ । शिवनगर खोलाको भंगालो बस्तीमा पसेपछि धनगढीको शिवनगर क्षेत्र पुरै डुबानमा परेको हाे । बाढी घरभित्र पस्दा स्थानीयका खाद्यान्न र लुगाकपडा भिजाएको छ ।

बुधवार दिउँसो १ बजेतिर खोलाले धार परिवर्तन गरेको थियो । खोलाले कटान बढाइरहेकोले बचेका घरहरु समेत डुबानमा पर्ने देखिएका छन् । तर, बस्तीमा बाढी पस्दा पनि निकासका लागि प्रयास भएको छैन ।

 

प्रतिक्रिया