सुरक्षा सल्लाहकारबाटै सुचनाको दुरुपयोग, स्वार्थका लागि कल डिटेल र सुराकी


काठमाडौं– सरकारका सुरक्षा सल्लाहकार नै सुरक्षा योजनासँग अत्यन्तै गोप्य मानिने सूचना ‘लिक’ गर्न सक्रिय रहेको पाइएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राज्यका अति गोप्य सुचना चुहाउने गरेको पाइएको हो ।

कागजपत्रलाई प्राप्त जानकारी अनुसार सुरक्षा सल्लाहकार बैरागीले निजी र स्वार्थ समुहका लागि आफ्नो पदको दुरुपयोग गर्दै विभिन्न व्यक्तिको कल डिटेल माग्ने,सुराकी गर्न राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गर्ने गरेको पाइएको छ ।

नाम उल्लेख नगर्ने सर्तमा सुरक्षा निकायका एक उच्च अधिकृतले बैरागीले प्रधानमन्त्रीको नाम बेच्दै चाहिदै नचाहिने सुचना र व्यक्ति तथा संस्थाका गोप्य विवरण माग्ने गरेको बताए ।

‘तर उहाँले ती सुचना प्रधानमन्त्रीलाई नपुगाएर निजी स्वार्थ र लाभका लागि विचौलियामार्फत प्रयोग गरेका छन् । बैरागीजीले बहालवाला मन्त्री देखि विभिन्न संवैधानिक निकायमा बसेका व्यक्तिहरुको कल डिटेल माग्दै उनीहरुका गतिविधि सुराकी गर्न लगाए,’ ती अधिकारीले भने ।

यी सुचना लिएपछि बैरागीसहितको समुह एकै स्थानमा भेला भएर आफ्नो तथा समुहको लाभका लागि प्रयोग गरिँदै आएका छन् ।

उनको समुहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा श्रेष्ठ,निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल,अर्थसचिव मधु मरासिनी तथा विचौलिया सुरेश घिमिरे लगायतका छन् ।

बैरागीमाथि नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यसँग मिलेर अनुसन्धानका क्रममा रहेको भष्ट्राचाका सुचना आरोपीसम्म पुर्याएको समाचार कागजपत्रले मंगलबारमात्रै समाचार प्रकाशित गरेको थियो ।

सरकारले ऐन नियममा कुनै व्यवस्था नै नगरी पूर्व मुख्यसचिव समेत रहेका बैरागीलाई सुरक्षा सल्लाहकार बनाएको थियो । सुरक्षा सल्लाहकार नियुक्त भएपछि बैरागी राष्ट्रिय सुरक्षा परिषद्जस्तो सम्वेदनशिल वैठकमा गएर ब्रिफिङ लिने र दिन थालेपछि नेपाली सेनाले समेत असन्तुष्ट थियो ।

सेनासँगै बैरागीसँग नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग समेत असन्तुष्ट छ ।

यसबारे पटक–पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारले कि कानुनमै व्यवस्था गर्न नभए सुरक्षा सल्लाहकार हटाउन भनिसकेको छ ।

संविधान र सुरक्षा परिषदमा सुरक्षा सल्लाहकारको व्यवस्था व्यवस्था नभएको भन्दै गैरकानुनी रुपमा सुरक्षाजस्तो सम्वेदनशिल क्षेत्रमा सल्लाहकारहरु राख्न ऐन नियममै उल्लेख गर्नुपर्ने तर्क अख्तियारको थियो ।

राज्यको महत्वपूर्ण निकायमा बसेर सुचना लिक गर्ने उनको कार्यप्रति सुरक्षा संयन्त्रका उच्च अधिकृतहरुले प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीलाई जानकारी गराउँदै आफ्नो असहमती प्रकट गरेका छन् ।

उनीहरुले बैरागीको गैरकानुनी क्रियाकलापले राज्यको सुरक्षामाथि गम्भीर चुनौती थपिएको समेत प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् ।

अधिकारीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री समेत आक्रोशित भएको स्रोतको दाबी छ ।

र यो पनि…

अख्तियारमा अनुसन्धानरत गम्भीर मुद्दाका सूचना आयुक्त अमात्यबाटै चुहावट

प्रतिक्रिया