प्रहरीमा सईभन्दा वरिष्ठ सईको तलब कम ! प्रवक्ता भन्छन्– अदालतमा मुद्दा छ


काठमाडौं – पदोन्नती हुँदा तलब भत्ता लगायतका सेवा सुविधा बढ्नुपर्ने सर्वमान्य सिद्धान्त र मान्यता हो । तर नेपाल प्रहरीमा ठिक उल्टो छ ।

पद बढ्दा पनि तलब घट्ने अवस्थामा नेपाल प्रहरी पुगेको छ । तत्कालीन आईजिपी शैलेश थापा क्षेत्रीको पालामा प्रहरी नियमावली, २०७१ संशोधन गरेर विभिन्न नयाँ पद सिर्जना गरिएको थियो ।

जसमा सहायक हवल्दार,वरिष्ठ हवल्दार र वरिष्ठ सईए नयाँ पद कायम गरिएको थियो । लामो समयसम्म बढुवा नहुँदा निरासा बढ्दै जाने निस्कर्ष निकाल्दै यी पद कायम गरिएको थियो । तर पदअनुसारको तलब वृद्धि भएन ।

बरु सईभन्दा वरिष्ठ सईको तलब कम आउन थाल्यो ।

तीन वटा नयाँ पद सिर्जना भएपछि यी पदमा २० हजार भन्दा प्रहरी कर्मचारीको बढुवा भएको थियो ।

अन्य पदमा तलबको समस्या नदेखिएपनि वरिष्ठ सईको दर्जामा देखिएको छ ।

सई दर्जामा ८ ग्रेड खाएर वरिष्ठ सईमा बढुवा भएका अधिकारीहरु अहिले सईमा खाएको भन्दा २६२ रुपैयाँ कम तलब प्राप्त गर्ने गरेका छन् ।

एक सई भन्छन्,‘हचुवाको भरमा वरिष्ठ सई बनाए । ग्रेड लगायत मिलान भएन । सियनर सईभन्दा भन्दा जुनयर सईको तलब बढी भयो । यो निकै अव्यावहारिक भयो । संगठनले यसमा ध्यान दिएन ।’

सईमा ८ ग्रेड खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो । तर  वरिष्ठ सईमा बढुवा भएपछि २ ग्रेडको समेत तलब थप गरेर दिँदा पनि सईमा खाएको भन्दा २६२ रुपैयाँ कम अर्थात ४३ हजार ७३२ रुपैयाँ हुन जान्छ ।

यसले बढुवा भएकाहरुमा समेत निरासा बढ्दै गएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्की यो मुद्दा अदालतमा रहेको बताउँछन् ।

उनले भने,‘यो विषयको विवाद अदालत पुगेको छ । पीडितले मुद्दा हालेका छन् । अब त्यतैबाट केही आउला ।’

प्रतिक्रिया