मालपोत अधिकृतसहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर


काठमाडौँ – विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले उनीहरूलाई जनही २ देखि ८ वर्षसम्म कैद पनि निर्धारण गरेको हो।

यसअघि जेठ १८ गते दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले ७ जना अधिकृतहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

विशेषले मालपोत अधिकृत मिश्रलाई ८ वर्ष, बोगटीलाई ८ वर्ष, ढुङ्गानालाई ४ वर्ष, अर्याललाई २ वर्ष र तिवारीलाई ८ वर्ष कैदको सजाय निर्धारण गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतले दोषी ठहर गर्ने क्रममा जेल सजाय जरिवाना सुनाएको छ ।

उता मिश्र र बोगटीले जनही १ करोड २५ लाख ११ हजार ९९ सय ९० बिगो तिर्नुपर्ने भएको छ । त्यस्तै ढुंगानाले ३५ लाख ४५ हजार ९५०, अर्यालले १६ लाख ८१ हजार ६०० र तिवारीले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ बिगो तिर्नुपर्ने भएको छ ।

अर्का प्रतिवादी चन्द्रप्रसाद भण्डारीको हकमा विशेषले ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९०० जरिवाना तिर्नुपर्ने भएको छ ।

प्रतिक्रिया