सीमा नाका खोल्न माग गर्दै वीरगञ्जका व्यवसायी काठमाडौंमा, भन्छन्- व्यवसाय चौपट भयो


काठमाडौं –  वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले भारतीय सीमा नाका खोल्न माग गर्दै काठमाडौं आएका छन् ।

उनीहरुले बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग भेट गरेका छन् । उक्त भेटमा होटल तथा पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय नाका खुला नहुँदा आफ्नो व्यवसाय चौपट भएको गुनासो गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र पर्यटन पत्रकार संघ पर्साको टोलीलै मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँदै अहिलेको कहालीलाग्दो अवस्थाबाट होटल तथा पर्यटन व्यवसायलाई जोगाउन आग्रह गरेका छन् ।

विगतमा वीरगञ्जका होटलमा भारतीय पाहुनाको हिस्स ७० देखि ८० प्रतिशतसम्म थियो । असहज अवस्थाका कारण भारतीय पाहुना वीरगञ्ज आउन सकेका छैनन् । कोरोना महामारीका समयमा २०७६ चैत ११ गते सरकारले बन्द गरेको नेपाल-भारत सीमा नाकामा आउजाउ गर्न दिए पनि भारतीय सवारी साधन ल्याउन प्रतिबन्ध कायमै छ ।

२०७७ कात्तिक ६ गतेदेखि भारत सरकारले आफ्नोतर्फबाट नाका खुला गरिसकेको छ । नेपालले भने वीरगञ्जसहितका देशका अन्तर्राष्ट्रिय नाका औपचारिक रुपमा खोलेको छैन ।

 

प्रतिक्रिया