

प्रचण्डलाई गम्भीर ‘धक्का’, पूर्वराज्यमन्त्री जबेगु एमाले प्रवेश

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्व पोलिटब्युरो सदस्य श्रीप्रसाद जबेगु केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका छन्।
माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहालको प्रधानमन्त्रीत्व कालमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री रहेका जगेबुले बुधबार केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन्।
जबेगु दाहाल नेतृत्वमा २०७३ मा बनेको संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री बनेका थिए। २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो। त्यसअघि उनी माओवादी केन्द्रमा पोलिटब्युरो सदस्यको भूमिकामा थिए। तर दुई पार्टी मिलेर नेकपा बनेपछि उनी कुनै पनि नेतृत्वमा थिएनन्।
माओवादी केन्द्रनिकट लिम्बुवान मुक्ति मोर्चामा पटक–पटक अध्यक्ष भएका उनले माओवादी केन्द्र र अध्यक्ष प्रचण्डले आफ्नो भूमिकाको अवमूल्यन गरेकाले एमाले रोज्नुपरेको बताए। यसबाट माओवादी केन्द्रलाई लिम्बुवान आन्दोलनमा ठूलो धक्का लागेको छ ।

