प्रेम प्रस्ताव अस्वीकारेपछि होटलमा लगी बलात्कार प्रयास गर्ने युवक भारतबाट पक्राउ


नेपालगञ्ज – १५ वर्षीया किशोरीलाई चक्कु देखाएर जबरजस्ती होटलमा लगेर बलात्कारको प्रयास गर्ने युवकलाई प्रहरीले पक्रेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका मोहम्मद उमर नेपालको इन्टरपोल शाखा र इन्डियन टास्क फोर्सको सहयोगमा भारतको श्रावस्तीस्थित जमुनाह बजारबाट पक्राउ परेका हुन्।

१६ माघमा मोहम्मदले विद्यालयबाट फर्किँदै गरेकी किशोरीलाई चक्कु देखाई नेपालगञ्ज बसपार्कस्थित एक होटलमा जर्बजस्ती लगेका थिए।

आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवकले किशोरीमाथि बलात्कार प्रयास गरेका थिए। तर बलात्कार गर्न नसकेपछि निर्घात कुटपिट गरेर अचेत अवस्थामा मरेको ठानी भागेका थिए। डेढ महिनादेखि फरार रहेका मोहम्मद जमुना बजारस्थित मामा मोहम्मद हसिमको घरमा लुक्दै आएका थिए।

अनुसन्धानमा संलग्न प्रहरीका अधिकारीका अनुसार मुस्लिम समुदायको बाहुल्यता रहेको सो क्षेत्रबाट उनलाई पक्राउ गरी नेपाल ल्याइएको हो। बाँकेका एसपी ओमबहादुर रानाले युवकलाई मंगलबार पक्राउ गरिएको जानकारी दिए।

घटनामा मोहम्मदको संलग्नता रहेको पुष्टि भएपछि उनलाई पक्राउ गर्नका लागि काठमाडौंस्थित इन्टरपोल शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तव र ग्राउण्डमा बाँकेका डिएसपी सुवास खड्काको टोली खटिएको थियो। उनीहरुले मोहम्मदलाई भेट्न जाने परिवारका सदस्यमार्फत एक महिनादेखि निगरानी गर्दै आएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया