प्रेममा थिए दक्षिणकालीमा मृत भेटिएका महिला पुरुष, भीरमा अड्कियो विवाहको सपना


काठमाडौं – विहीबार काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मृत अवस्थामा फेला महिला पुरुष दुवै विवाहित तर प्रेम सम्बन्धमा रहेको खुलेको छ ।

दक्षिणकालीमा धादिङ सिद्धलेख गाँउपालिका–५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चाँगुनारायण नगरपालिका–५ की ३२ वर्षीया सरिता राई मृत अवस्थामा फेला परेका थिए । उनीहरु दुवै भक्तपुरमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार सरिताका श्रीमान १० वर्षपहिले भारत गएको र त्यसपछि सम्पर्कमा नरहेको खुलेको छ । रामचन्द्र पनि विवाहित रहेको तर लामो समयदेखि एक्लै बस्दै आएको आफन्तले प्रहरीलाई जानकारी दिएका छन् ।

प्रहरीलाई आफन्तले दिएको जानकारी अनुसार उनीहरुको निजि जिवन एकै प्रकृतीको वियोगान्त नै थियो ।

पछिल्लो ६ महिनादेखि उनीहरु प्रेम सम्बन्धमा रहेको खुलेको छ ।दुवै पक्षका आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरु विवाह गर्ने योजनामा थिए । तर उनीहरुको सपना दक्षिणकालीको भीरमा अड्कीयो । उनीहरु जेठ १२ देखि १४ गतेको बिचमा घरबाट निस्किएको सुचना प्रहरीसँग पुगेको छ । मृतक सरिताको माइतीघर भक्तपुरमा रहेको र उनको विवाहपछिको घर हेटौडा रहेको खुलेको छ ।

उनीहरु हेटौडाबाट फर्किनेक्रममै दुर्घटना भएको हुनसक्ने घटनास्थलको प्रकृतीबाट देखिएको प्रहरी वृत्त कीर्तीपुरका डीएसपी भोलेश्वर साहले जानकारी दिए । उनीहरु मृत भेटिएकोे स्थानमा मोटरसाइकल समेत भेटिएको छ । घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल फेला परेको छ ।

उनीहरुको शव सडकबाट २ सय मिटर तल भिरमा अड्किएको अवस्थामा फेला परेको थियो । स्थानीयले प्रहरीलाई शव देखेपछि खबर गरेका थिए । भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली मगाएर शव निकालिएको थियो ।

प्रतिक्रिया