दक्षिणकालीमा मृत भेटिएका महिला पुरुष श्रीमान्–श्रीमती होइनन्, घुम्न जाँदा दुर्घटना !

मृतक महिलाका श्रीमान विदेशमा


काठमाडौं – काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मृत अवस्थामा फेला महिला पुरुष दुवै विवाहित भएको खुलेको छ । विवाहित भएपनि उनीहरु श्रीमान–श्रीमती नभएको खुलेको छ । यसअघि उनीहरु श्रीमान श्रीमती भएको आशंका गरिएको थियो ।

उनीहरु दुवै भक्तपुरमा बस्दै आएको खुलेको छ । आज दक्षिणकालीमा धादिङ सिद्धलेख गाँउपालिका–५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चागुनारायण नगरपालिका–५ की ३२ वर्षीया सरिता राई मृत अवस्थामा फेला परेका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिपक थापाले अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको टोली परिचालन गरिएको बताए ।

एआईजी थापाका अनुसार मृतक महिलाको श्रीमान विदेशमा रहेको खुलेको छ । उनीहरु घुम्न गएको बेला मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको एआईजी थापाले कागजपत्रलाई जानकारी दिए ।

उनीहरुको बारेमा अन्य विस्तृत जानकारी आइनसकेको थापाले बताए । उनीहरु मृत भेटिएकोे स्थानमा मोटरसाइकल समेत भेटिएको छ ।

घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल फेला परेको छ ।   उनीहरुको शव सडकबाट २ सय मिटर तल भिरमा अड्किएको अवस्थामा फेला परेको थियो । स्थानीयले प्रहरीलाई शव देखेपछि खबर गरेका थिए । भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली मगाएर शव निकालिएको छ ।

 

प्रतिक्रिया