
कान्तिपुरका अध्यक्ष सिरोहियालाई समात्न सिआइबीसहितको टोली खटाइयो
काठमाडौं- कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरी परिचालन भएको छ ।
उनलाई समात्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेली परिचालन गरिएको स्रोतले बताएको छ । पक्राउ गरेपछि टोलीले उनीलाई जिल्ला प्रहरी कार्यालय धनुषालाई बुझाउने बताइएको छ ।
यस्तै कान्तिपुर मिडिया ग्रुपको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटाइएको स्रोतले बताएको छ ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । वैशाख १६ गते प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैर नेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको उल्लेख छ । उनीविरुद्ध सर्लाही निवासी इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए ।
सिरोहियाको जन्ममिति २०१९ राखेर २०३३/०३४ मा धनुषाबाट जारी भएको नागरिकताको नम्बर र २०३६ भदौ २० मा जनकपुर उपमहानगरपालिका वडा नम्बर २ ठेगानाबाट शिवजी साहु तेलीको नाममा जारी भएको नागरिकता नम्बर एकै रहेको उजुर कर्ताको दाबी थियाे ।
जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमामाथि सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।
आज भने जिल्ला अदालत धनुषाको इजलास नम्बर २ बाट सिरोहियालाई पक्राउ गर्न आदेश जारी भएको छ ।



कागजपत्र |
