मर्निङवाक हिँड्दै गर्दा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु, २ घाइते


बुटवल — एम्बुलेन्सको ठक्करबाट मर्निङ वाकमा हिँडेका १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्  । बुटवलनजिकै बेलबासमा आइतबार बिहान  अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर गइरहेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका–१३ झोलुंगे पुलनजिकै ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो भने दुई जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ठक्करबाट बुटवल उपमहानगरपालिका–११ बेलबासकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । घटनामा बुटवल–११ कै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते भएका छन् । मर्निङ वाकमा हिँडेका उनीहरूलाई बाटो क्रस गर्ने क्रममा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

स्थानीयले घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए । उपचारकै क्रममा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७का नारायणबहादुर गब्तार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया