मृत भेटिएका ट्राफिक घिमिरेको अनुहारमा चोटै-चोट, युनिफर्म र जुत्ता जलाएको अवस्थामा भेटियो


काठमाडौं – राजधानीको बालाजुस्थित मनमैजुमा मृत भेटिएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको युनिफर्म र जुत्ता जलाएर फालेको अवस्थामा भेटिएको छ । जवान घिमिरे दरबारमार्ग ट्राफिकमा कार्यरत थिए ।

तारकेश्वर नगरपालिका—९, मनमैजुमा मृत भेटिएका जवान घिमिरे बिहीबार ड्युटी सकेर निस्केपछि कार्यालय फर्किएका थिएनन् । तर, उनको शव शुक्रवार साँझ भेटिएको हो ।

अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेलगायत प्रहरी टोली टोली घटनास्थलमा पुगेर फर्किसकेको छ ।

अनुहार चोट देखिएकाले प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।

खोटाङ घर भएका घिमिरे सामाखुशीमा बस्दै आएका थिए ।

 

प्रतिक्रिया