

अटो चढ्ने तर भाडा नदिने २ महिलाको हत्या, टेकबहादुर पक्राउ

काठमाडाैं- दाङकाे घोराही उपमहानगरपालिका–१० पहेलपारमा हिजाे(शनिबार) दिउँसो दुई महिलाको हत्या भएको थियाे । सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढाकाे हत्या भएकाे हाे ।
प्रहरीले दुवैको हत्या आरोपमा रोल्पाको थवाङ घर भइ घोराही–१७ मा अटो चलाउने आएका टेकबहादुर घर्तीलाई पक्राउ गरिसकेको छ ।
शनिबार दिउँसो सङ्गीता र जुतलीलाई टेकले घरबाट बजार र बजारबाट घर अटोमा लगेर गएका थिए । तर, घर पुगेपछि अटो भाडा माग्दा महिलाहरुले दिन आनाकानी गरेको खुलेको छ । उनले एक वर्षभन्दा अघिदेखि संगीता सुनार र जुपली बुढालाई यसरी नै काम पर्दा र घुमफिर गर्न जाँदा घरबाट बजार लैजाने र ल्याउने गर्थे । तर, संगीता र जुपलीले टेकबहादुरलाई रिक्सा चढेको पैसा नदिने र टार्दै आएका थिए ।
हिजाे पनि दुवैले भाडा नदिएपछि आवेगमा आएका टेकबहादुरले घरमै गएर बन्चरो प्रहार गरी उनीहरूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिए । हत्या गरेपछि उनी अटो छोडेर भागेका थिए । तर, उनलाई प्रहरीले तुरुन्तै पक्राउ गरेको थियो ।
मृतक संगीताको परिवार मजदुरी गर्दै आइरहेको थियो भने जुपलीको परिवार अमेरिकामा बस्दै आएको छ ।

