

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालको जीत

काठमाडौं- पाँच खेलको श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जीत हात पारेको छ ।
वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले । शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए । साहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए ।
अन्त्यमा कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै टोलीलाई जितसम्म डोर्याए । उनले ३ चौका र ३ छक्का हिर्काए । वेस्ट इन्डिजका लागि ओबेड म्याकोयले ३ तथा म्याथ्यु फोर्डेले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए ।
जितका बावुजद वेस्ट इन्डिजले ३–२ ले शृङ्खला आफ्नो पक्षमा पारेको छ ।

