जागिरको प्रलोभन देखाई ठेकेदार शर्माले गरे ठमेलमा किशोरी बलात्कार

किशोरीले दिइन् दरबारमार्ग प्रहरीमा उजुरी


काठमाडौं — जागिर लगाइदिन्छु भन्दै बलात्कार गरेको अभियोगमा दोलखाका एक पुरुषविरुद्ध दरबारमार्ग प्रहरीमा जाहेरी परेको छ । दोलखाको मेलुङ गाउँपालिका-३ घर भई हाल भक्तपुरको बालकोट बस्ने ४५ वर्षीय ठेकेदार विदुर शर्माले आफूलाई जागिर लगाइदिने भनेर होटलमा लगेर बलात्कार गरेको भन्दै एक किशोरीले प्रहरीमा उजुरी दिएकी हुन् ।

शर्माले पीडित किशोरीलाई सँगै खाना खाने भनेर काठमाडौंको सुन्धारास्थित रेस्टुरेन्टमा लगेको र त्यसपछि कामको बारेमा कुरा गर्नुपर्छ भन्दै ठमेलस्थित विश्वनाथ होटलमा लगेर करणी गरेको युवतीले जनाएकी छिन् ।

शर्माले बुधबार ती युवतीलाई आफ्नै गाडीमा राखेर होटटलमा पुर्याएको र छद्म नाममा बुक गरिराखेको होटलको कोठामा लगेर बलात्कार गरेको जनाइएको छ । शर्माले किशोरीलाई ‘तिमिलाई जसरी पनि जागिर मिलाइदिउला’ भन्दै शारीरिक सम्पर्क राख्न खोजेकोमा युवतीले इन्कार गरेपछि बियर खुवाएर बलात्कार गरेको जनाइएको छ ।

किशोरी बलात्कृत भएको सूचना पाएलगत्तै प्रहरीले उक्त होटलमा पुगेर घटनाको विवरण लिएको थियो । उक्त घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘किशोरी र शर्माबीच केही समय पहिलेदेखि सामान्य चिनजान सम्पर्क भएको आधारमा ती किशोरीलाई जागिर लगाइदिने प्रलोभन देखाउँदै आएका रहेछन् । बुधबार गाडीमा चढाएर किशोरीलाई लिएर होटल गएको देखिएको छ ।’

पीडित किशोरीले आफूलाई शर्माले जागिर मिलाइदिने प्रलोभन देखाएर जबरजस्ती शारीरिक सम्पर्क गरेको प्रहरीलाई बताएकी छन् । एक प्रहरीले किशोरीलाई उद्धृत गर्दै भने, ‘जागिरको कुरा गर्न भनेर गाडीमा बसाएपछि कता लगेको हो मलाई थाहा दिएनन् । होटलमा पुर्‍याएपछि बलात्कार गरे ।’

प्रतिक्रिया