

प्रचण्ड प्रक्षेपण : एमाले, माधव नेपालहरूले बिद्रोह वा कब्जा गर्छन्

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ एमालेमा माधव नेपाल पक्ष कब्जा गर्ने या विद्रोह गर्ने प्रक्षेपण गरेका छन्।
शुक्रबार बुटवलमा भएको कार्यकर्ता प्रशिक्षण तथा भेलाका क्रममा उनले भने,‘अहिले एमालेभित्र नेपालले कब्जा गर्ने या विद्रोह गर्न सक्ने अवस्था छ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बुर्जुवा हेडक्वार्टरमा १९ बुँदेमार्फत विस्फोट गराएको दाबी गरे। सोही १९ बुँदेबाट नै परिवर्तनकारी र प्रतिक्रान्तिकारीबीचको भिन्नता र मतभेद सुरु भएको प्रचण्डको दाबी छ।
नेकपा माओवादी केन्द्र छाडी एमालेमा पुगेका रामबहादुर थापा बादललगायतका नेतालाई फकाउने मुडमा आफू नरहेको प्रचण्डको भनाई छ। उनले अब आफू जनताबीचमा नै रहने र काठमाडौंमा मात्रै केन्द्रित नहुने बताए।

