पर्सा प्रहरीको सफलताः वीरगञ्जबाट समातिए गोठाटार गोली काण्डका अभियुक्त बब्लु


वीरगञ्ज – काठमाडौंको गोठाटारमा गोली हानी हत्या गरिएका लाल मोहम्मदका हत्या अभियुक्त पक्राउ परेका छन् । पर्सा प्रहरीले वीरगञ्जमा गोली हानी सो घटनाका अभियुक्त पक्राउ गरेको हो ।

घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भारतीय नागरिक बब्लु पासवान भएका छन् । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको छ ।

पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।

प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।

उनी मारिनुअघि नेपाल प्रहरीसँग मोहम्मदबारे भारतीय पक्षले चासो राख्दै आएको थियो । उनको हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको प्रहरीको भनाइ छ । उनी घटना भएका बेला गोठाटारमै भएको समेत आशंका छ ।

 

प्रतिक्रिया