

सन्दीपको मुद्दामा आज पेसी

काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ । लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको हो ।
यसअघिको पेसीमा अदालतले वडाबाट गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश दिएको थियो । साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।
यसअघि जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।

