तस्करको आँखाको तारो बन्दै काभ्रे एसपी बसुन्धरा खड्का

काभ्रेको एसपी सरुवा गर्न सिन्धुपाल्चोकका माओवादी नेता सक्रिय


सिन्धुपाल्चोक – जिल्लाको राजमार्गबाट हुँदै आएको तस्करीविरूद्ध काभ्रे जिल्लाका प्रहरी प्रमुख बसुन्धरा खड्का खरो रूपमा उत्रिएपछि उनको सरुवा गर्न अहिले सिन्धुपाल्चोकका माओबादी नेता शक्तिकेन्द्र धाउन थालेका छन् । सरुवाका लागि स्थानीय तह र सत्तारुढ दल नै लागेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाबाट अवैध ढुंगा उत्खनन् गरी काठमाडौं तस्करी गर्न लागिएको २० टिप्पर ढुंगा नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाएपछि खड्काको सरूवा गर्न माओवादी सांसद माधव सापकोटा र जुगल गाउँपालिकाका प्रमुख रेशम स्याङ्बो लागि परेका छन् । सांसद सापकोटाले आफैं प्रधानमन्त्री निवास बालुवाटार पुगेर काभ्रे एसपीको सरुवा गरी आफू निकट एसपी लैजान हात धोएर लागेका छन् ।

बुधबार काभ्रेको पाँचखालबाट अवैध ढुंगा बोकेका २० वटा टिप्परहरुलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएपछि काभ्रे एसपी खड्का तस्करहरुको आँखाको तारो बनेकी हुन् ।

काभ्रे प्रहरीद्वारा नियन्त्रणमा लिइएका ती टिप्परहरु छुटाउन जुगल गाउँपालिका प्रमुख स्याङ्बोका साथै माओवादी केन्द्र सांसद माधव सापकोटा (सुबोध) नै लागि परेका थिए । सांसद सापकोटाले ती अवैध २० वटा टिप्परलाई छुटाउनका लागि प्रधानमन्त्री प्रचण्डमार्फत् गृहमन्त्री रवि लामिछानेलाई समेत दबाब दिएका पनि थिए ।

पाँचखालबाट नियन्त्रणमा लिइएको ढुंगाका विषयमा काभ्रे प्रहरीले खानी विभागका कारबाहीका लागि पठाएको थियो । त्यसपछि खानी विभागले उक्त ढुंगा उत्खनन् कार्य अवैध रहेको जनाउँदै अब आइन्दा उत्खनन् नगर्ने शतमा ती ढुंगाहरु जुगल गाउँपालिकाभित्र विकास निर्माणमा मात्र प्रयोग गर्न निर्देशन दिएको स्रोतले जनायो ।

जुगल गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै तस्करी र अवैध कार्यलाई प्रश्रय दिएका अध्यक्ष स्याङ्बोविरुद्ध अख्तियारमा समेत उजुरी परिसकेको छ । लामोसमयदेखि तस्करी भइरहेको भए पनि सिन्धुपाल्चोक प्रहरीले तस्करी विरुद्ध कारबाही नचलाएको भन्दै स्थानीयहरुले सिन्धुपाल्चोक प्रहरीको समेत तस्करीमा मिलेमतो रहेको दाबी गरेका छन् ।

 

प्रतिक्रिया