

बैतडीमा आफ्नै भतिजीमाथि कुर्कम गरेर हत्या गर्ने काका पक्राउ

बैतडी- बैतडीमा बलात्कारपछि हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिकामा १७ वर्षीया किशोरीमाथि बलात्कारपछि हत्या गरेको आरोपमा युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीले जानकारी दिए ।
मृतकको बुवाबाट हाडनाता करणी र कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी परेपछि सोमबार प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको टोलीले र्पुौडीबाट ती युवकलाई नियन्त्रण लिएको उनले बताए ।
पुर्चौडी नगरपालिका- ४ रातामाटाकी किशोरी चैत्र २८ गते जंगलमा मृत फेला परेकी थिइन् । उनी मृत फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीको टोलीले घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानबाट काका नाता पर्ने ती युवकले ललाई फकाइ धाकधम्की दिएर पटकपट बलात्कारपछि किशोरी गर्भवती भएकी खुलेको छ ।
डडेल्धुरा अस्पतालमा गरिएको पोष्टमार्टमा किशोरीको पेटमा १८ हप्ताको गर्भ फेला परेको प्रहरीले जनाएको छ । गर्भपतन गर्न नमानेपछी जंगलमा लगेर हत्या गरेको खुलेको छ ।
पुर्चौडी स्वास्थ्य चौकीमा गर्भपतन गराउने प्रयास असफल भएपछि काकाले ढुंगाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता केसीले बताए ।

