

गैरकानुनी रुपमा नेपाल बसेका ३ बंगलादेशी पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिषा अवधि समाप्त हुँदा पनि नेपाल बसोबास गरिरहेका ३ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई काठमाडौंको ठमेलबाट शंकास्पद गतिविधि गरिरहेको सूचनाको आधारमा भिषा अवधि समाप्त भइसकेपछि पनि गैरकानुनी रुपमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बंगलादेशका २७ वर्षीय राना अहमद, २४ वर्षीय रोकिब हुसेन र ३० वर्षीय सुमन शाजहान रहेका छन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थान पठाएको पनि कार्यालयले जनाएको छ ।
पछिल्लो समय गृहमन्त्रालयले गैरकानुनी रुपमा नेपाल बसोबास गरिरहेका विदेशी नागरिकहरुको निगरानी बढाउन निर्देशन दिएको छ ।

