गृहमन्त्रीको बलमा सिआईबी पुगेका एआईजी ज्ञवालीविरुद्ध गम्भीर आरोपसहित उजुरी

सुनकाण्ड र अमेरिकी ग्रीन कार्डबारे छानबिन गर्न राज्य व्यवस्था समितिद्वारा अख्तियारमा पत्राचार


काठमाडौं — संगठन प्रमुख हुनका लागि असफल भएका विवादित अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरुद्ध राज्य व्यवस्था तथा सुशासन समिति र गृहमन्त्रालय गम्भीर किसिमको आरोपसहित उजुरी परेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने निकट रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख एआईजी ज्ञवालीमाथि राज्य व्यवस्था तथा सुशासन समिति र गृह मन्त्रालयमा निवेदन परेको छ ।

ओखलढुंगा सिद्धिचरण स्थायी घर भई हाल बुढानिलकण्ठ बस्ने दिनेश पौडेलले ज्ञवालीले अवैध सुन पैठारी तथा संगठित अपराधसम्बन्धी मुद्दाका आरोपितसँग ‘मिलेमतो’ रहेको भन्दै राज्य व्यवस्था तथा सुशासन समिति र गृह मन्त्रालयमा निवेदन दिएका हुन् । उक्त निवेदनमा ज्ञवालीलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाहीको पनि माग गरिएको छ ।

जन्ममिति विवाद र कमजोर कमाण्ड रहेका ज्ञवाली विवादमा आइरहने ज्ञवाली यसपटक सुन प्रकरणमा आफैं मुछिने संकेत देखिएको छ । गृहमन्त्री लामिछानेको बलमा यसअघिका सिआईबी प्रमुख छानबिनको दायरामा परेपछि सिआईबी पुगेका ज्ञवाली अहिले आफैं फस्ने सम्भावना बढ्दै गएको छ ।

‘ज्ञवाली हाल नेपाल प्रहरी निकायमा कार्यरत रहेको अवस्थामा नेपाली नागरिकतासमेत त्याग नगरी अमेरिकाको ग्रिन कार्ड लिएको बुझिएको हुँदा नेपाल प्रहरीमा कार्यरत रहन अयोग्य रहने अवस्थामा निजले अवैध सुन पैठारी तथा संगठित अपराधसम्बन्धी मुद्दामा प्रमाण नष्ट गर्नकै लागि भनी केन्द्रीय अनुसन्धान ब्युरोमा कामकाजका लागि शक्ति केन्द्रमा दौडधुप गरी स्थान प्राप्त गरेको भन्ने तथ्य पुष्टि हुन आउँछ,’ निवेदनमा उल्लेख छ ।

सोही कारण सीआईबीमा ज्ञवालीको सरुवा पनि विवादमा परेको थियो । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि ज्ञवालीलाई मन्त्रिपरिषद्बाट निर्णय गराएर सीआईबी प्रमुखमा सरुवा गरिएको थियो । यसअघि उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरेको आरोप ज्ञवालीमाथि लागेको थियो । यस विषयमा संसदीय समिति तथा अख्तियारले पनि छानबिन थालेको थियो ।

प्रहरी महानिरीक्षक दौडमा रहेका ज्ञवाली आफू संगठन प्रमुख बन्न नसकेपछि कहिले भुटानी शरणार्थी प्रकरण त अहिले सुन प्रकरणमा आफूविरुद्व रहेका प्रहरी अधिकारी, राजनीतिक नेतृत्व र संवैधानिक अंगका पदाधिकारीविरुद्ध विभिन्न षडयन्त्रमा लागेको आरोप पनि ज्ञवालीलाई लाग्दै आएको छ ।

एआईजी ज्ञवालीमाथि गम्भीर आरोपसहित निवेदन परेपछि यस विषयमा आवश्यक छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरिएको राज्य व्यवस्था समितिले जानकारी दिएको छ । समितिका सभापति रामहरि खतिवडाले ज्ञवालीमाथि गम्भीर आरोपसहित निवेदन परेको जनाउँदा यसअघि गृहमन्त्री र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग पनि छलफल भएको जनाए । उनले एआईजी ज्ञवालीको विषयमा छानबिन र आवश्यक कारबाहीका लागि अख्तियारलाई पत्राचार गरिसकेको पनि जनाए ।

प्रतिक्रिया