जुवातास खेल्नेहरुबाट नगद साढे १३ लाख बरामद


काठमाडौं – काठमाडौं ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जना गत माघ १५ गते नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ परे ।

यसैगरी भक्तपुर चाँगुनारायणस्थित रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ४१ वर्षीय रेल कुमार तामाङ समेत २० जना नगद ६ लाख ७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित चैत १९ गते राति पक्राउ परे ।

यसैगरी ललितपुर लुभु बस्ने ४७ वर्षीय हरिबोल चौलागाई समेत ११ जना नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित चैत ३ गते जुवातास खेल्दै गर्दा पक्राउ परे ।

पक्राउ परेका उपरोक्त व्यक्तिहरू जुवातास खेल्ने प्रतिनिधि पात्र मात्र हुन् । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा जुवातासमा संलग्न १ हजार ८१७ जना पक्राउ परेका छन् ।

जसमध्ये काठमाडौं उपत्यकाबाट ७७९ जना, कोशी प्रदेशबाट ११५ जना, बागमती प्रदेशबाट ११३ जना, गण्डकी प्रदेशबाट २९९ जना, लुम्बिनी प्रदेशबाट ९४ जना, कर्णाली प्रदेशबाट १०४ जना र सुदूरपश्चिम प्रदेशबाट ३१३ जना रहेका छन् ।

उक्त अवधिमा उनीहरूको साथबाट २ करोड ६३ लाख ४५ हजार ४१७ रूपैयाँ बरामद भएको छ । जसमध्ये काठमाडौं उपत्यकाबाट १ करोड ४१ लाख ४ हजार ३५९ रूपैयाँ, कोशी प्रदेशबाट १७ लाख ८८ हजार ६२५ रूपैयाँ, बागमती प्रदेशबाट २३ लाख ७३ हजार १९४ रूपैयाँ, गण्डकी प्रदेशबाट ३७ लाख ३४ हजार ७५९ रूपैयाँ, लुम्बिनी प्रदेशबाट ७ लाख ३७ हजार ४७२ रूपैयाँ, कर्णाली प्रदेशबाट ९ लाख ६४ हजार ७२१ रूपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २६ लाख ४२ हजार २८७ रूपैयाँ बरामद भएको हो ।

सो अवधिमा जुवातास खेल्नेहरूबाट ५५४ बुक तास, २५० थान कौडा लगायतका सामान बरामद भएको छ । जसमध्ये काठमाडौं उपत्यकाबाट २७९ बुक तास तथा ९८ थान कौडा, कोशी प्रदेशबाट ४४ बुक तास तथा १६ थान कौडा, बागमती प्रदेशबाट २१ बुक तास, ४० थान कौडा, लंगुरबुर्जा तथा जुवा, गण्डकी प्रदेशबाट २९ बुक तास, ९६ थान कौडा, लुडो तथा गोटी, लुम्बिनी प्रदेशबाट ४१ बुक तास, कर्णाली प्रदेशबाट १८ बुक तास र सुदूरपश्चिम प्रदेशबाट १ सय २२ बुक तास बरामद भएको छ ।

जुवातास खेल्ने व्यक्तिहरू सुराकी र विशेष सूचनाको आधारमा पक्राउ पर्ने गरेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भने, “जुवा खेलेको विशेष सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिई रित पूर्वक तलासी लिने गर्दछ । रकम हार जित हुने गरी जुवातास खेल्दा समाजमा नकारात्मक असर बढि हुने हुँदा यसलाई कानुनी दायरामा ल्याइएको हो । खासगरी जुवातास चाडपर्वको समयमा बढि खेल्ने गरेको पाइएता पनि प्रहरीले भने यसलाई सदैव प्राथमिकतामा राखी निग्रानी गरिरहेको हुन्छ । जुवातास जन्य सामाजिक विकृतिलाई निर्मूल पार्न सामाजिक एक्यवद्धता आवश्यक रहेको छ । ”

प्रतिक्रिया