उपत्यकामा फेरि देखिन थाल्यो कोरोना, १२ जनामा पुष्टि


काठमाडौं- काठमाडौं उपत्यकामा १२ जनामा कोभिड १९ पुष्टि भएको छ ।  मौसमी फ्लु भनी अनुमान गरिएका उनीहरू उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगे थिए । तर परीक्षणा गर्दा उनीहरूमा कोभिड पुष्टि भएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म ८ जनामा कोभिड १९ पुष्टि भएको छ । पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ । जसमध्ये दुईजना डिस्चार्ज भएका छन् । संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए।

यस्तै त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ ।  सोमबार परीक्षण गरिएका ९ वटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो । कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको जानकारी आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनले दिएका छन् ।

 

प्रतिक्रिया