राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयाे कुराकानी ?


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज भेटवार्ता भएको छ ।

राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण रूपमा कुराकानी भएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए ।

राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको स्पष्ट पार्दै अमेरिकी सहयोग विभिन्न क्षेत्रका अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको जानकारी राजदूतले गराएको पनि श्रेष्ठले बताए ।

त्यस प्रसंगमा अमेरिकी राजदूत थम्पसनले नेपालमा उत्कृष्ट प्रकृतिको धार्मिक सद्भाव रहेको आफूले पाएको विचार व्यक्त गरे ।

नेपालबाट चोरी भई अमेरिका पुगेका मूर्तिहरू नेपाल फिर्ता गरी सम्बन्धित मठमन्दिरमा पुनःस्थापना गर्ने अमेरिकी नीति रहेको पनि राजदूत थम्पसनले बताए ।

छलफलका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध आयामका साथै सुशासन, विकास, वैदेशिक लगानीलगायत विविध विषयमा पार्टीको नीतिका बारेमा अध्यक्ष लिङ्देनले राजदूत थम्पसनलाई जानकारी गराएएका थिए ।

प्रतिक्रिया