कस्तो हो प्रसाईका सुरक्षा गार्डसँग बरामद भएको हतियार ?


काठमाडौं — सोमबार सर्वोच्च अदालत परिसरबाट व्यवसायी दुर्गा प्रसाईका सुरक्षा गार्ड सय राउण्ड गोली र अर्ध स्वचालित हतियारसहित समातिए ।

अदालतजस्तो संवेदनशील स्थानमा हतियारसहित पुगेका प्रसाईका सुरक्षा गार्डको साथबाट भेटिएको हतियार German Sports Gun (GSG) Rifile Gauge 22LR रहेको खुलेको छ । बरामद भएको उक्त गोली ०.२२ एमएमको हो । सामान्यतयाः साना हतियार मानिएको पेस्तोलमा ०.५४ एमएमको गोली लाग्नेमा यस हतियारमा भने जम्मा ०.२२ एमएमको मात्र गोली लाग्ने भएकाले यसले कम क्षति पुर्याउँछ । मेसिन गन भएकोले लगातार रूपमा संवेदनशील अंगमा गोली लागेको खण्डमा ज्यानै जाने, नत्र १/२ गोलीले ज्यानै जानेसम्मको क्षति नपुर्याउने पनि जनाइएको छ ।

यो हतियारको बजार मूल्य ७८७ अमेरिकी डलर रहेको समेत खुलेको छ । तर प्रसाईले भने उक्त हतियार २२ लाख रुपैयाँमा किनेको दाबी गरेका थिए ।

सरकारले कुनै पनि व्यक्तिलाई इजाजतपत्र (लाइसेन्स) लिएर हतियार राख्न दिने गरेका प्रावधानअनुसार नै प्रसाईले पनि लिएका थिए ।

यसअघि प्रहरीले २०७५ सालमा विभिन्न व्यक्तिहरुले लाइसेन्स लिएर साथमा राखेका हतियार खोसेको थियो । त्यतिबेला सरकारले हतियारको दुरुपयोग गरेको भन्दै विभिन्न उजुरी परेपछि लाइसेन्स लिएका ५ व्यक्तिको यस्तै किसिमको हतियार खोसेको थियो । त्यतिबेला म्यानपावर व्यवसायी रघु पुरी, मिटरब्याजी वीरेन्द्रलाल श्रेष्ठ, निर्माण व्यवसायी आङकाजी शेर्पा र महेशबहादुर सिंहलगायतसँगबाट ६ थान इजाजतपत्र प्राप्त हतियार खोसिएको थियो ।

सोमबार सर्वोच्च अदालत परिसरबाट प्रसाईका सुरक्षा गार्डद्वय दिपक खड्का र रामकुमार धिताल पक्राउ परेका थिए । प्रहरीले उनीहरुको साथबाट हतियारसहित १०० राउण्ड गोली, म्यागजिन र दुईवटा मोबाइलसमेत बरामद गरेको थियो ।

प्रतिक्रिया